झापामा भूकम्प पीडितका लागि राहत अभियान

झापा ।  महाभूकम्पमा परी ज्यान गुमाएका तथा अंगभंग भएकाको परिवारको सहयोगका लागि दैवी प्रकोप उद्धार समिति झापाले १ करोडबढी राहत संकलन गर्ने भएको छ । आज विहान विर्तामोडमा पत्रकारसँगको अन्तरक्रियामा दैवी प्रकोप उद्धार समितिका जिल्ला संयोजक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जिन्सीबाहेक भूकम्प पीडितका लागि नगद १ करोड संकलन गर्ने लक्ष भएको बताए ।

राहत संकलनलाई सफल बनाउन आफ्ना गच्छेनुसार सहयोग गर्न समेत प्रजिअ पौडेलले झापाबासीलाई आग्रह गरेका छन् । हुनेले मन खोलेर पीडितका लागि सहयोग गरौ, नहुनेले आफ्नो गच्छेनुसार नगद र जिन्सी दिएर सहयोग गरौ, प्रजिअ पौडेलले भने–‘जन–धनमात्रै होइन गाँस बास र कपास सबै भूकम्पले लगेपछि परिवारका अन्य सदस्य खुल्ला आकासमुनी बस्न बाध्य छन् । खानाका लागि खाद्यन्न सामाग्री छैन, हात पनि रित्तो छ, यस्तो अवस्थामा मानवीय नाताले पनि सहयोग गर्नुपर्छ ।’ झापामा भूकम्पबाट सय घर चर्किएर क्षति पुगेको तथा एउटा घर भत्किएको सूचना आएको जानकारी दिए । उनले एक सय बोरा चिउरा, १२ हजार लिटर पानी, ३५ सय सोलार लाईट सेट र १० हजार थान टेन्ट झापाबाट राजधानी पठाउन लागेको बताए ।
साहयक प्रमुख जिल्ला अधिकारी तथा महाभूकम्पका लागि झापाका फोकल पर्सन रोहितराज पोखरेलले त्रास र आतंक फैलाउने होइन संयम र धैर्यता बढाउने समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे । कार्यक्रममा जिल्लाका प्रहरी उपरीक्षक रविन्द्रनाथ रेग्मीले झापा भूवनौटसँग मानवीय सचेत ठाउँ भएकाले दाताले गरेको सहयोग सम्बन्धित प्रधानमन्त्री दैवी प्रकोप उद्दार राहत कोषमा पठाइने बताए । राहत कोषमार्फत सबै भूकम्प पीडितलाई राहतस्वरुप नगद तथा जिन्सी सामाग्री प्रदान गरिने छ । झापामा तन्दा बोकर राहत संकलन गर्नेलाई निरुत्साहित गर्ने उनको भनाई थियो । २ ट्रक खाद्यन्न, पानीलगायतका सामाग्री काठमाण्डौ पठाउँने तयारी गरिएको समेत उपरीक्षक रेग्मीले जानकारी गराएका थिए । झापामा कुनै मानवीय क्षति नहुनुले झापावासीले आफूलाई भाग्यशाली ठान्नु पर्ने बताउँदै सक्दो राहत संकलनमा जुट्न आग्रह गरे ।
रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले घाइतेको उपचारका लागि पठाउन चार सय पोका रगत तयारी रहेको जनाउँदै विपदका बेला सञ्चारमाध्यमले मानवीय संवेदनामा सहयोग पुग्ने भूमिका निर्वाह गर्नुपर्ने बताए । भूकम्प पीडितका लागि झापाका दुईवटा संस्थाले १ लाख ५१ हजार नगद सहयोग गरिसकेको जानकारी दिए । विर्तामोडमा सञ्चालित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले १ लाख १ हजार र हाम्रो बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार १ सय रुपैयाँ राहतस्वरुप आर्थिक सहयोग गरेको र अन्य संघ–संस्थाले पनि सहयोग गर्न इच्छुक भएको जानकारी आएको समेत ढकालको भनाई छ ।
यसैबीच भूकम्प पीडितको उद्दारका लागि उद्योग बाणिज्य संघ झापाले आर्थिक सहयोग गर्न तत्पर रहेको जनाएको छ । पत्रकार भेटघाटमा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश डालमियाले पीडितका लागि राहत संकलनार्थ सबै उद्योगी व्यवसायीलाई आग्रह गरेको बताए । संघले महाभूकम्पबाट दैविक प्रकोपमा परेर ज्यान गुमाएका सबैलाई भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्बाङको अध्यक्षता तथा सचिव एकराज गिरीले औचित्यमाथि प्रकाश सहित सञ्चालन गरेको छलफलमा सञ्चारमाध्यमले राहत संकलन र विपदको बेला संयमता अपनाउन सक्ने सामग्रीलाई प्राथमिकताका साथ सम्प्रेषण गर्नु पर्नेमा जोड दिए । सञ्चार क्षेत्रका अगुवाहरुले मानसिक प्रताडना र त्रासदीपूर्ण समाचार तथा सामाग्री रोक्नुपर्ने बताउँदै सत्य तथ्य सूचना सम्प्रेषणमा जोड दिए ।
कार्यक्रममा पत्रकारहरु मदन ढकाल, मोहन काजी, कृष्ण हुमागाई, माधव विद्रोही, तरामणि सापकोटा, गोपाल काफ्ले, दिपीन राई, ज्ञानेन्द्र निरौला, राजेन्द्र गौतम, उमाकान्त खनाल, सन्तोष अग्रवाललगायतले विभिन्न सुझाव राखेका थिए । सो अवसरमा झापा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष बलराम कार्की, नेपाल जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष विनोद बस्नेत लगायतले राहत संकलनलाई तीब्र पार्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्: