सहाराद्धारा ३ लाख ५१ हजार रुपैयाँ राहत प्रदान

बिर्तामोड । शनिबारदेखि आएको विनाशकारी भूकम्प पीडितहरुका लागि झापाबाट राहत संकलन हुने क्रम जारी रहेको छ ।
यसै क्रममा चारपाने, विर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाको तर्फबाट ३ लाख ५१ हजार रुपैयाँ राहत स्वरुप रकम प्रदान गरेको छ ।

संस्थाको तर्फबाट कर्मचारीहरुको एक दिनको तलब, सञ्चालक समितिका पदाधिकारी तथा सदस्य र संस्थाका तर्फबाट गरी ३ लाख ५१ हजार रुपैयाँको चेक मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई संस्थाका उपाध्यक्ष हरिप्रसाद निरौलाले हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा सहारा (साकोस) का सहायक कार्यकारी निर्देशक लक्ष्मण खतिवडाको समेत उपस्थिति रहेको थियो । चेक रकम बुझ्दै प्रजिअ पौडेलले झापा जिल्ला आफैं विपत्तिमा नपरे पनि अन्य जिल्लाका लागि सहयोग जुटिरहेको र हालसम्म प्राप्त रकम मध्ये सहाराद्वारा प्रदान गरिएको रकम सबैभन्दा धेरै भएकोमा संस्थालाई धन्यवाद व्यक्त गरेका छन् ।
चेक हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष निरौलाले दैवी प्रकोपमा परेका मानिसहरुलाई संस्थाले सहयोग गर्ने नीति अन्तर्गत सो रकम सहयोग गरिएको बताएका छन् ।

यसैगरी महाभूकम्प पीडितहरुका लागि झापाको विर्तामोड १ स्थित पुनर्जन्म समूह नेपालले ५१ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।

समूहका अध्यक्ष राजु गिरीले झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की र नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका कार्यवाहक सभापति निर्मल भट्टराईलाई आज मंगलबार बिर्तामोडमा ५१ हजार एक सय रुपैयाँ नगद हस्तान्तरण गरेको रेडक्रस बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।

पुनर्जन्म समूह नेपाल लागू औषध प्रयोगकर्ताहरुको उपचार र पुनस्र्थापनाका लागि कार्यरत रहेको समूहका परामर्श दाता सरोज श्रेष्ठ र स्वयम सेवक नेपाल रत्न शिवाकोटीले जानकारी दिए । बिर्तामोडमा वाणिज्य संघ, रेडक्रस सोसाइटीको अगुवाइमा अन्य संस्थाको सहभागितामा राहत संकलन गर्ने कार्यक्रम जारी छ ।
संकलित राहत जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाइने छ । राहत संकलनका लागि एकरुपता कायम गर्ने प्रशासनसंगको सहमति बमोजिम वाणिज्य संघ,रेडक्रसको अगुवाई तथा स्थानीय संघसंस्थाको सामुहिक सहभागितामा झापाका विभिन्न स्थानमा राहत संकलन जारी छ ।

२÷४ जना मिलेर तन्ना लिएर जथाभावी राहत संकलन गर्ने कार्यलाई भने प्रशासनले निरुत्साहित गरेको छ । प्रशासनले संघसंस्थासंगको समन्वयमा एकरुपताकासाथ राहत संकलनमा जुट्न पनि आग्रह गरेको छ । झापाबाट एक करोड रुपैया राहत संकलन गरी पठाउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्: