काठमाण्डौमा फोहोर ब्यवस्थापन शुरु

काठमाण्डौ । शनिबार गएको विनाशकारी भूकम्पका कारण महानगरपालिकाले फोहोर व्यवस्थापनमा नियमितता दिन नसक्दा सडकमा जम्मा भएको फोहोर बुधबारदेखि उठाउन सुरु गरेको छ ।
भूकम्पको त्रासले अस्तव्यस्त बनेको काठमाडौँको जनजीवन तथा सुरक्षाका लागि खुला ठाउँमा बनाइएका शिविर आसपास क्षेत्रबाट पनि फोहोर जथाभावी थुप्रिएको थियो ।

सडकमा जम्मा भएका फोहोरले दुर्गन्ध फैलाउँदै जान थालेकाले बटुवा तथा पैदलयात्रीलाई समस्या परेको थियो । टुँडिखेलमा सुरक्षाका लागि शिविर बनाएर बसेका सर्वसाधारणबाट जम्मा भएको फोहोर भने महानगरपालिकाले व्यवस्थापन गरिसकेको र अहिले घर–घरमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका वातावरण व्यवस्था महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले समयमा फोहोर व्यस्थापन नभए वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यसको व्यवस्थापन गर्न लागिएको बताए ।

उनले बौद्ध, जोरपाटी, नयाँबानेश्वरलगायतका स्थानबाट करिब एक हजार मेट्रिक टन फोहोर उठाएर टेकुस्थित फोहोर सङ्कलन केन्द्रमा जम्मा गरिएको त्यसलाई बिहीबार ल्यान्डफिल्ड साइटमा पर्याइने बताए । काठमाण्डौका विभिन्न सडकमा जम्मा भएको सम्पूर्ण फोहोर व्यवस्थापनको कार्य सम्पन्न गर्न ३÷४ दिन लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: