प्रशासन कार्यालयमा आगजनी

चरिकोट । भूकम्प पीडितलाई सरकारले राहत सामग्री उपलब्ध नगराएको झोकमा पीडितले बुधबार यहाँको जिल्ला प्रशासन कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
भूकम्प आएको चार दिन बितिसक्दा पनि त्रिपाल, खानेपानी, खाद्यान्नजस्ता न्यूनतम जीविकाका आधारभूत सामग्री समेत नपाएको भन्दै पीडितहरुले जिल्ला प्रशासन र जिल्ला बिकास समितिको कार्यालय तोडफोड तथा आगजनी गरेका हुन् ।
विरोध प्रदर्शन र नारावाजी गर्दै पीडितहरुले प्रशासन कार्यालयमा पसेर टेबुल–कुर्सी अफिसबाट निकालेर जलाएका छन् । पीडितले लामाबगरमा अलपत्र परेका यार्सागुम्बा सङ्कलकहरुको उद्धार गर्न ढिलाइ गरेकोमा पनि आपत्ति जनाएका छन् ।
सयौँको सङ्ख्यामा प्रशासन र जिविस कार्यालय पुगेकापीडितले राहत सामग्री नपाएको भन्दै बिहानैदेखि विरोध प्रदर्शन गरेका थिए । प्रशासनले अहिलेसम्म दोलखामा राहतका कुनै पनि सामग्री बाँड्न नसकेको स्थानीयले बताएका छन् । गाउँगाउँबाट पीडितहरु सामग्री लिन प्रशासन कार्यालय आउने क्रम बढेपछि यहाँ तनाब उत्पन्न भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले राहत सामग्री जिल्लामा उपलब्ध हुन नसकेका कारण पीडितलाई वितरण गर्न नसकिएको बताएका छन् । सरकारको कमजोरीका कारण यहाँ जनआक्रोश बड्दो छ । यसअघि सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायलाई भुकम्प पीडितले कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: