चारदिने सुत्केरीको उद्धार

काठमाण्डौ । भूकम्प आएपछी पानीमात्र पिएर ओढारमा बसेकी गोरखाको सौरपानी गाविस–९ की एक सुत्केरी महिलाको उद्धार गरिएको छ ।
१८ वर्षीय सुनकुमारी गुरुङलाई चार दिनको छोरीसहित हेलिकोप्टरको सहायताले बुधबार अपरान्ह उद्धार गरी उपचारका लागि गोरखा जिल्ला अस्पताल लगिएको होे ।
भूकम्प आएको समयमा सुत्केरी बेथाले च्यापेकी गुरुङ घरको कोठाबाट बाहिर निस्कन नसकेपछि घरभित्रै पुरिएकी थिइन् । उनलाई परिवारका सदस्यले शनिबार दिउँसो २ बजे सकुसल उद्धार गरेका थिए ।
घर पुरै ध्वस्त भएपछि उनको परिवार घरदेखि एक घण्टा दूरीमा रहेको जङ्गलभित्रको ढुङ्गाको ओढारमा बसेका थिए । ‘बेलुकी ९ बजे छोरी जन्माए’ उनले भनिन् ‘घरको गाह्रो भत्केर उछिटिट्टएको ढुङ्गाले दुवै खुट्टामा चोट लाग्यो ।
ओढारमा खानेकुरा केही नपाएको बताउँदै उहाँले पानीमात्रै खाएर बस्नुपर्दा छोरीलाई खुवाउने दूध अपुग भएको बताए ।
चार दिनकी सुत्केरी गुरुङकी छोरीलाई कमलपित्त रोग लागेको छ । त्यो रोगको उपचार गोरखा जिल्ला अस्पतालमा सम्भव भएन । पैसो नपाएपछि अस्पतालबाट गाउँ फर्कने सोच बनाएकी उनलाई काठमाडौंका पर्यटन व्यवसायी राजेन्द्र बजगाइँले आर्थिक सहयोग गरे ।
बजगाइँले गुरुङ परिवारलाई छोरीको उपचारमा खर्च गर्न आग्रह गर्दै २० हजार आर्थिक सहयोग गरे । जिल्ला अस्पताल गोरखामा पुगेर बजगाइँले गुरुङलाई सो रकम हस्तान्तरण गरे । गुरुङकी छोरीको उपचारमा लाग्ने अन्य खर्च बजगाइँले दिने बताए ।
त्यस्तै उत्तरी गोरखाको लापु गाविस–६ खानीगाउँमा अझै घाइतेहरु छटपटाइरहेका छन् । उद्धारका लागि गएको भारतीय वायुसेना निगमको हेलिकोप्टर अवतरण गर्न नसकेपछि घाइतेहरुलाई उद्धार गर्न नसकिएको हो ।
हेलिप्याड नभएकाले अवतरणमा समस्या भएको गोरखास्थित नेपाली सेनाको गुल्मले जनाएको छ ।
उत्तरी गोरखाको विभिन्न गाविसबाट २२४ जना घाइतेलाई उपचारका लागि पोखरा लगिएको छ । त्यस्तै १५ जना घाइतेलाई उपचारका लागि काठमाडौँ र १२१ जनालाई गोरखा जिल्ला अस्पतालमा लगिएको छ ।
अहिलेसम्म गोरखा जिल्लाभर चार सय पाँच जनाको शव भेटिएको छ । अझै ५० भन्दा बढी घाइतेलाई उद्धार गर्न बाँकी छ ।
महाभूकम्पले धेरै जनधनको क्षति पुर्याएको सिम्जुङ, बारपाक, लाप्राक, गुम्दालगायतका गाविसमा प्रारम्भिक चरणमा राहत पुर्याइएको छ ।

त्यस्तै गोरखा नगरपालिका, पालुङटार नगरपालिका र गाविसमा सडक सञ्जालमार्फत राहत सामग्री पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: