बेलायतकी अभिनेत्रीको भूकम्प पीडितलाई सहयोग

बेलायती अभिनेत्री जोअना लुम्लेले नेपालमा आएको महाभूकम्प पीडितको सहयोगका लागि बेलायतमा नेपालका भुकम्प प्रभावितका लागि अभियान थालेकी छिन् । नेपालका भुकम्प पीडितका लागि अभिनेत्री लुम्लेले शुरु गरेको अभियानमा एकै दिन तीन अर्ब रुपियाँ संकलन भएको छ ।
अभिनेत्री लुम्लेले पहल गरेको डिजास्टर इमरजेन्सी कमिटी (डिइसी) ले मंगलबार र बुधबार बीचको २४ घण्टामा २ अर्ब ९७ करोड रुपियाँ संकलन गरेको हो ।
उनको उक्त अभियानलाई बेलायतकी महारानी र युवराज चार्ल्सले समेत समर्थन गरेका छन् । डिइसीमा शुरुमा उठेको लगभग ९० लाख रुपियाँ बराबरको रकम बेलायती सरकारले थपिदिएको थियो ।‘नेपाल अर्थक्वेक अपील’ नाम दिइएको सो अभियानबाट संकलित सहयोगबाट भुकम्पबाट प्रभावित भएका नेपालीहरुलाई खर्च गरिने बताइएको छ ।
जोअना लुम्ले सन् २००९ मा पूर्व गोरखाहरुलाई बेलायतको आवासीय भिषाका लागि सफल अभियान गरेर नेपाली र गोरखालीमाझ परिचित छिन् । उनलाई गोरखालीकी छोरी भन्ने गरिन्छ । यसअघि मंगलबार अभियानको घोषणा गर्दै लुम्लेले भनेकी थिइन् ‘नेपाल हजारौँ वर्षदेखिको प्राचीन सँस्कृति बोकेको मुलुक हो तर भुकम्पको केही सेकेण्डको झट्काले यसको इतिहास माटोमा मिलाइदियो । भुकम्प केही सेकेण्डमा सकियो तर त्यसको प्रभाव वर्षाैँ रहने छ ।’
उनले भनिन्–‘मेरा पिताले गोरखाहरुसित काम गर्नुभो गोरखाहरुले दुईसय वर्षसम्म बेलायतका लागि आफ्नो ज्यान आहुति दिए अब उनीहरुलाई सहयोग गर्ने हाम्रो पालो आयो ।’ लुम्लेले थुप्रै हलिउड फिल्म तथा टेलिभिजिन सिरिजमा अभिनय गरेकी छिन् । अभिनेता लिआनार्दो डिकाप्रियोको मुख्य भूमिका रहेको वुल्फ अफ दि वाल स्ट्रिट लुम्लेको पछिल्लो फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्: