मातृभाग्य रेखाको बार्षिकोत्सब सम्पन्न

बिर्तामोड । झापामा  रहेको मातृ भाग्यरेखा बस सेवा प्रतिष्ठानको ३३ औं बार्षिकोत्सव विहीवार बिर्तामोडमा सम्पन्न भएको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रेमप्रसाद दाहालको अध्यक्षतामा भएको बार्षिकोत्सवको उद्घाटन प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पुर्व उपाध्यक्ष श्रीप्रसाद मैनालीले गरे ।
उक्त अवसरमा मातृ भाग्य रेखा बस सेवा प्रतिष्ठानको स्थापना र प्रगतिमा महत्वपूर्ण योगदान गर्ने तीन जना व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरमा कृष्णप्रसाद श्रेष्ठ, भवानी सुवेदी र रामजी तिवारी रहेका छन् । कार्यक्रममा प्रतिष्ठानका व्यवस्था निर्देशक खड्गप्रसाद दाहालले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मेची यातायात संघका सभापति राजेन्द्र बस्नेत, कनकाई यातायात संघका सभापति कुलप्रसाद ओडारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मदन ढकाल, सनातन धर्म सेवा समिति झापाका अध्यक्ष गोपीकृष्ण खनाल, पूर्वाञ्चल यातायात संघका सचिव हुकुमबहादुर नेपाली, नेपाल स्वतन्त्र मजदुर संगठन मेचीका अध्यक्ष हस्तराज राईले यातायात क्षेत्रमा मातृ भाग्यरेखा बस सेवा प्रतिष्ठान नमूना बनेको भन्दै थप प्रगतिका लागि शुभकामना व्यक्त गरे ।
सोही अवसरमा प्रतिष्ठानका सञ्चालक स्वर्गीय यामनाथ दाहालको स्मृतिमा यामनाथ दाहाल स्मृति प्रतिष्ठान घोषणा गरियो । प्रतिष्ठानका लागि व्यवस्था निर्देशक खड्गप्रसाद दाहालले अध्यक्ष प्रेमप्रसाद दाहाललाई समारोहमै एक लाख रुपैयाँको चेक प्रदान गरे । आगामी बर्षदेखि एक जना उत्कृष्ट यातायात व्यवसायी र यातायात क्षेत्रको बारेमा कलम चलाउने उत्कृष्ट पत्रकारलाई नगद, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिने जनाइएको छ ।
प्रतिष्ठानका सञ्चालक समिति सदस्य टंकप्रसाद दवाडीले सञ्चालन र कार्यक्रममा उपस्थिति अतिथिहरुलाई बल्लभ सापकोटाले स्वागत गरेका थिए ।
मातृ भाग्यरेखा बस सेवा प्रतिष्ठानमा अहिले ४१ जना व्यवसायीका ५१ वटा बस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: