एकसय २८ घन्टापछि खड्काको जीवितै उद्धार

काठमाडौँ । काठमाण्डौको गोङ्गबु बसपार्क्स्थित जनसेवा गेस्ट हाउसबाट एक सय २८ घन्टापछी २४ वर्षीया कृष्णकुमारी खड्काको जीवितै उद्धार गरिएको छ ।

नेपाल प्रहरी, इजरायली, नर्वेलीलगायतका टोलीले बिहीबार राति ११ बजे ९ घन्टा निरन्तर उद्धारको प्रयासबाट खड्काको जीवितै उद्धार गर्न सफल भएको जनाइएको छ ।
प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार बर्दिया जयनगर–६ निवासी खड्का शनिबारको विनाशकारी भूकम्पमाबाट गेस्ट हाउसको भुइँतल्लामा पुरिएका थिए । विदेशी उद्धारकर्मीले उच्च प्रविधिको सहयोगमा सो स्थानमा दुईजना जीवितै रहेको पत्ता लगाएपछि उद्धारको निरन्तर प्रयासबाट जीवित उद्धार गर्न सफल भएको हो ।
“गेस्ट हाउसभित्र ‘अइया–अइया’ भनेर कराइरहेको आवाज आएको थाहा पाउने बित्तिकै नेपाल प्रहरीका साथै उद्धारका लागि अन्य विदेशी तीन देशको सहयोगमा जीवितै उद्धार सम्भव भयो”–उनले भने ।
जीवित उद्धार गरिएकी खड्कालाई भत्किएको संरचनाभित्र शवले च्यापिएकाले मानसिक रुपमा त्रास बढेको छ । अहिले उनको नेपाल आर्मीको अस्पताल छाउनीमा उपचार गरिरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: