भूकम्पले देशकोे पर्यटन उद्योग प्रभावित

काठमाडौं । शनिबार गएको विनाशकारी भूकम्पले देशकोे पर्यटन उद्योग प्रभावित बनेको छ । भूकम्प पछि पर्यटक नेपाल आउन डराएकोले पर्यटन उद्योग प्रभावित बनेको होे । नेपाल भ्रमणमा आउन लागेका अधिकांश पर्यटकले आफ्नो भ्रमण रद्द गरिसकेको पर्यटन व्यवसायीको भनाई ।

भूकम्पको प्रभाव पर्यटनमा महिनौंसम्म पर्ने निश्चित देखिएको छ । ‘नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले होटलको बुकिङ रद्द गरिसकेका छन । नेपाल आइसकेका पर्यटकहरु पनि भूकम्प आएपछि फर्किसकेका छन् भने केही पर्यटकको भूकम्पकै कारण ज्यान समेत गुमेको छ ।

केही भ्रमणमा आउन लागेका पर्यटकले बुकिङ रद्द गरेका छन् । जसले गर्दा होटलहरु खाली हुन थालेको होटल ब्यवसायीहरु बताउछन् । भूकम्पको समाचार विश्वभरका प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेपछि भ्रमणमा आउने पर्यटक त्रसित बनेका छन् । पटक–पटक गएको भूकम्पको धक्काले अधिकांश ठूला साना होटलहरु प्रभावित भएका छन् । हिमाल आरोहणको सिजनमा हिउँपहिरो जान थालेपछि वेशक्याम्पमा पुगेका आरोहीसमेत निरास हुँदै फर्किन थालेका हुन् ।
भूकम्पको धक्काले हिमपहिरो जाँदा सगरमाथा आधार शिविरमा ४ जना विदेशी र १४ जना नेपालीले ज्यान गुमाउनु परेको पर्यटन वोर्डले जनाएको छ ।
अहिले मुलुकभित्र १० वटा पाँचतारे, २ वटा चारतारे र सयौं पर्यटकस्तरीय होटलहरु सञ्चालनमा रहेका छन् ।

अधिकांश होटलमा बुकिङ रद्द भएको र यसको प्रभाव महिनौंसम्म पर्ने सञ्चालकहरु बताउछन् । तत्कालका लागि पर्यटक नआए पनि विदेशी उद्दारकर्ता र पत्रकारले होटलहरु भरिएका छन् । तर, यिनीहरु केही समयपछि आफ्नो मुलुक फर्किने हुँदा होटलहरु लामो समय खाली हुने स्थिति देखिएको छ ।

ऐतिहासिक धरोहरको अवलोकन गर्न आउने पर्यटक तत्काल नेपाल भ्रमणमा नआउने देखिन्छ । नेपालका छिमेकी मुलुक भारत र चीनबाट सबैभन्दा बढी पर्यटक आउने गर्छन् । यी दुई मुलुकका पर्यटक बढेपछि नेपाल बाह्रै महिना पर्यटकले भरिभराउ हुने गर्दथ्यो । तेस्रो मुलुकका पर्यटक धेरै जसो असोज, कार्तिक, मंसिर, फागुन, चैत र वैशाख महिनामा नेपाल भ्रमणमा आउने गरेका थिए ।
साथसाथै ट्रेकिङ, एक्स्िपडिसन, र्याफ्टिङ, एयरलाइन्स लगायतको व्यवसाय पनि प्रत्यक्ष मारमा पर्ने भएको छ । भूकम्पका कारण विदेशी विमानले एयरपोर्ट जाम गरेपछि मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल पनि प्रभावित भएको छ । वैशाख महिना बिहेवारी हुने समय हो ।

यो बेलामा तारे होटलमा धनाढ्य मानिसको भोज हुने गथ्र्यो । त्यो पनि भूकम्पसँगै सकिएको छ । ककटेल डिनर पार्टीहरु पनि रद्द भएका छन् । जसले गर्दा होटल सञ्चालकहरुले घाटा ब्यहोर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: