हार्डवेयर व्यवसायीद्धारा राहत प्रदान

बिर्तामोड । हार्डवेयर व्यवसायी संघ बिर्तामोडले भूकम्प पीडित सिन्धुलीका ३ सय परिवारका लागि राहत सामग्री जुटाएको छ । हार्डवेयर व्यवसायीहरुले ३ सय परिवारका लागि संकलन गरेको सामग्री लिएर एक टोली शुक्रबार विहान बिर्तामोडबाट सिन्धुली प्रस्थान गरेको हो ।
यस अघि हार्डवेयर व्यवसायी संघका अध्यक्ष मात्रिका कोइरालाको् अध्यक्षतामा आयोजित कार्यक्रममा झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की , नेपाल पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले व्यवसायीले छोटो समयमा उल्लेख्य राहत जुटाएर भूकम्प पीडितलाई पठाएकोमा सराहना गरे ।

हार्डवेयर व्यवसायीले तीन–तीन सय थान ब्ल्याङ्केट, त्रिपाल, म्याट्रेस, तीन सय बोरा चिउरा, तीन सय कार्टुन चाउचाउ, तीनसय कार्टुन पानी, तीनसय प्याकेट विस्कुट र तीन सय प्याकेट नून राहत स्वरुप प्रदान गर्न लागेको हो । उक्त सामग्रीको मूल्य नौ लाख भन्दा वढी रहेको बताइएको छ ।

त्यस्तै सोही टोलीलाई माडवारी महिला मञ्च बिर्तामोडले महिलाका लागि साडी तथा अन्य भित्री बस्त्रहरुको तीन सय प्याक राहत स्वरुप पठाएको मञ्चकी अध्यक्ष दीपा खेडियाले बताइन् । कार्यक्रमको सञ्चालन हार्डवेयर व्यवसायी संघका सचिव वेदनिधि भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: