४५ सय विद्यालय र ६ सय ९९ हेल्थपोष्टमा क्षति

काठमाण्डौ । शनिबारको महाविनाशकारी भूकम्पबाट ठूलो संख्यामा विद्यालय र हेल्थ पोष्टमा क्षति पुगेको छ । भूकम्पले विभिन्न जिल्लाका ४५ सय विद्यालय र ६ सय ९९ हेल्थपोष्टमा क्षति पुगेको हो ।
विपत व्यवस्थापनमा काम गर्दै आएको बैंककस्थित एशियन विपत तयारी केन्द्र (एडीपीसी)को रिपोर्टले यस्तो देखाएको हो । नेपालको विपत व्यवस्थापनमा काम गर्न केन्द्रबाट एकजना प्रतिनिधि नेपाल आइपुगेको नेपाल सरकारले जानकारी दिएको छ । रिपोर्टअनुसार भूकम्प प्रभावित विभिन्न जिल्लाका ४५ सय विद्यालयमा क्षति पुगेको बताइन्छ । जसमध्ये १२ सय ९७ विद्यालयमात्र तत्काल पुनःनिर्माण गरी पठन–पाठन सुचारु गर्न मिल्नेखालका रहेका छन् ।
विद्यालय भवन भत्किएपछि दशौं हजार विद्यार्थीहरुको पठन–पाठन प्रभावित भएको छ । वर्षायाम सुरु हुन लागेकाले खुल्ला चौरीमा बसेर पढ्ने स्थिति पनि छैन ।
एडीपीसीले क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थालाई ४ भागमा विभाजन गरेको छ । जसमध्ये १२ सय ९६ विद्यालयमा केही बढी क्षति भएको छ भने १५ सय ५५ विद्यालयमा धेरै क्षति भएको छ । ३ सय ५२ विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: