युरोपेली मुलुकका १ हजार जना पर्यटक बेपता

काठमाण्डौ । भूकम्पका कारण नेपाल भ्रमणमा रहेका युरोपेली मुलुकका १ हजार जना पर्यटक बेपता भएण्का छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम आरटिई न्यूजले नेपालमा भूकम्पबाट १ हजार जना युरोपेलीहरु हराइरहेको बताएको हो । भूकम्पमा परी हालसम्ममा १२ जनाले ज्यान गुमाएको उल्लेख गरीएको छ ।

भूकम्पपछि काठमाण्डौस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकहरुको खोजविनका लागि ठूलो संख्यामा निवेदन आउन थाले । चाप बढ्दै गएपछि अमेरिकी दूतावासले आफ्ना नागरिकको उद्दारमा हेलिकप्टर नै पठाउनुपरेको र लाङटाङ क्षेत्रबाट ३ अमेरिकीलाई उद्दार गरिएको बताइएको छ ।

त्यस्तै शुक्रबार ७ अमेरिकीलाई गोर्खालगायतका क्षेत्रबाट उद्दार गरी काठमाण्डौ ल्याइएको छ । नेपालमा अहिले २ देखि ३ हजार जना अमेरिकी नागरिकहरु स्थायीरुपमा बसोबास गर्दै आएको अमेरिकी दूतावासको अनुमान छ र अन्य ३ हजारजना अमेरिकी नागरिकहरु यस समयमा नेपाल भ्रमणमा रहेको दूतावासका अधिकारी बताउँछन् । नेपालस्थित युरोपेली युनियनका राजदूतको हवाला दिँदै उसले हराइरहेका मध्ये अधिकांश लाङटाङ र लुक्ला क्षेत्रमा गएका पर्यटक रहेको जनाएको छ ।

भूकम्पपछि सम्पर्क्विहीन बनेका १ सय ७० जना आयरल्याण्डका नागरिकहरुलाई उद्दार गरी आयरल्याण्ड फर्काइसकिएको आयरल्याण्डको विदेश मन्त्रालयले जनाएको छ । नेपालमा गएको विनाशकारी भूकम्पका विषयमा विदेशी मिडियाहरुले पनि महत्वका साथ खबर प्रकाशन प्रशारण गरिरहेका छन् ।

विदेशी मिडियाले नेपालको भूकम्पीय क्षति तथा अन्य मानवीय घटनाक्रमका साथै नेपालमा हराएका, मृत्यु भएका तथा उद्दार गरिएका आफ्ना देशका नागरिकहरुको अवस्थाका विषयमा पनि प्रमुखताका साथ रिपोर्टिङ गरेका छन् ।

नेपाल भ्रमण गर्ने तथा नेपालमा स्थायीरुपमा बसोबास गर्दै आएका विदेशी नागरिकहरुले आफ्नो देशमा यस विषयमा कुनै लेखापढी गर्नुनपर्ने हुँदा र सम्बन्धित देशसँग यसको विषयमा आधिकारिक तथ्यांक नहुने भएकाले नेपालस्थित विदेशी दूतावासहरुले भूकम्प प्रभावित आफ्ना नागरिकको संख्याका विषयमा अनुमानमै भर पर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्: