महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७ हजार ३ सय ६५ पुग्यो

काठमाण्डौ । बैशाख १२ शनिबारका दिन गएको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७ हजार ३ सय ६५ पुगेको छ । १४ हजार ३ सय ६६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पमा परी १३ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् भने १ सय १ सुरक्षाकर्मी घाइते भएका छन् ।

नेपाल प्रहरीका अनुसार नेपाली सेनाका ८ , नेपाल प्रहरीका ४ र सशस्त्र प्रहरी बलका १ जनाको मृत्यु भएको हो । भूकम्पका कारण १० हजार चार सय ६४ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । देशभर १४ हजार एक सय ६८ घर तथा भवन आंशिकरुपमा क्षति भएका छन् ।

सर्वसाधारणका १ लाख ३० हजार ४ सय ९३ घर पूर्ण क्षति भएका छन् भने १ लाख ३४ हजार ९ सय ६३ घरमा आंशिक क्षति भएको छ । पूर्वाञ्चलमा ५२ जनाको मृत्यु भएको छ भने ३ सय ९ जना घाइते भएका छन् । त्यस्तै मध्यमाञ्चलमा ६ हजार १ सय ४९ को मृत्यु भएको छ भने १३ हजार ३५ घाइते भएका छन् ।

पश्चिमाञ्चलमा ४ सय १८ को मृत्यु भएको छ भने १ हजार १ सय ९७ घाइते भएका छन् । त्यस्तै मध्यपश्चिमाञ्चलमा २ जनाको मृत्यु र २५ घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार सुदूर पश्चिमाञ्चलमा भूकम्पबाट ७ वटा सरकारी कार्यालय आंशिक क्षति भएका छन् भने सर्वसाधारणका ६ घरमा आंशिक क्षति भएको छ । सो क्षेत्रमा कुनै पनि मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्: