संसद बैठकमा शोक प्रस्ताव पारित

काठमाण्डौ । विहिवार बसेको संसद बैठकमा भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झनामा शोक प्रस्ताव पारित भएको छ । बसेको संसद बैठकमा शोक प्रस्ताव पारित गर्दै शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएको छ । शुक्रबारका लागी तय भएको भनिएको संविधानसभा बैठक भने आउँदो जेठ १ गतेलाई सारिएको छ ।

प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसद बैठकमा शोक प्रस्ताव पारित गर्न प्रस्ताव गरेको थियो । शोक प्रस्ताव पारित भएपछि संकल्प प्रस्ताव र प्रधानमन्त्रीको सम्बोधन अर्को बैठकमा मात्रै हुने तीन दलवीच सहमति भएको छ ।

संसदको बैठकका एजेण्डबारे छलफल गर्न विहान बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकमा सत्ता पक्षले संकल्प प्रस्तावको मस्यौदासमेत पेश गरेको थियो । बैठकमा शोक प्रस्ताव, संकल्प प्रस्ताव र प्रधानमन्त्री सुशील कोइरालाको सम्बोधनसमेत गरी तीनटा एजेण्डा सत्तापक्षले प्रस्ताव गरेको थियो ।

बालुवाटार बैठकमा सत्तापक्षको प्रस्ताव आएपछि एमाओवादीका तीन शीर्ष नेताले केहीबेर अलग्गै छलफल गरेका थिए । त्यसपछि सत्तापक्षले प्रस्तुत गरेको संकल्प प्रस्तावको मस्यौदाको साटो आफूहरुले भिन्नै ड्राफ्ट बनाउने एमाओवादी नेताले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

विपक्षीले बोलाएको बैठक भएकाले संकल्प प्रस्ताव विपक्षीले नै तयार पार्ने र सो प्रस्ताव सत्तापक्षलाई पनि चित्त बुझ्ने गरी बनाइने एमाओवादी नेताले बैठकमा बताएका थिए ।
व्यवस्थापिका संसद नियमावली अनुसार संकल्प प्रस्ताव पारित गर्नका लागि वैठकपूर्व नै संसद सचिवालयमा दर्ता गरिनुपर्छ । तर, अहिलेसम्म संसद सचिवालयमा प्रस्ताव दर्ता नभएकाले संकल्प प्रस्ताव विहीबार प्रस्तुत हुन नसकेको हो ।

यस्तो राष्ट्रिय विपतिको समयमा सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्न आफूहरु तयार रहेको एमाओवादी नेताले बैठकमा बताएका थिए ।
यसैवीच प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीलाई सरकारमा आउन आग्रह गरेको चर्चा चले पनि यसबारे कुनै छलफल नभएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । उनले भने ‘यसबारे छलफल भएन, आजको छलफल संसदको बैठकमै केन्द्रित रह्यो ।’

प्रतिक्रिया दिनुहोस्: