अग्निपीडितलाई राहत हस्तान्तरण

इलाम । ताप्लेजुङका आगलागी पीडितका लागि दक्षिण कोरियामा सङ्कलित रु. ८५ हजार राहत शुक्रबार हस्तान्तरण गरिएको छ ।
दक्षिण कोरियामा रहेका इलामे युवाहरुको सक्रियतामा ‘इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरिया’ मा सङ्कलन गरिएको राहत रकम उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरेलाई एक समारोहकाबीच इलामपोष्ट दैनिक तथा रासस इलामका प्रतिनिधि गोविन्दप्रसाद लामिछाने र सौर्य दैनिकका राम योङहाङले हस्तान्तरण गरेका हुन् ।
राहत बुझ्दै अध्यक्ष घिमिरेले वास्तविक पीडितका लागि प्राप्त राहत ताप्लेजुङ अग्निपीडितलाई वितरण गरिने बताए । डेढ महिनाअगाडि ताप्लेजुङको तोक्मेडाँडामा आगलागीका कारण ५० घरपरिवार पीडित बनेका छन् ।
इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरियाका अध्यक्ष हरि खनालको नेतृत्वमा सङ्कलन गरी लामिछाने मार्फत हस्तान्तरण गरेका हुन् ।
राहत हस्तान्तरण कार्यक्रममा पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष केशवप्रसाद भट्टराई, कान्तिपुर दैनिकका आनन्द गौतम, नागरिकका खगेन्द्र अधिकारी, अग्निपीडित तथा उद्योग वाणिज्य संघ ताप्लेजुङका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: