‘विप्लव’ नेतृत्वको माओवादी उद्धार कार्यमा

काठमाण्डौ । माओवादीबाट बिभाजित बनेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सो पार्टी मातहतका २ सय युवाहरुलाई भूकम्पपीडितको उद्धार तथा राहतका निम्ति परिचालन गरेको छ । उक्त पार्टीले भूकम्पबाट बढि प्रभावित जिल्लामा युवादस्ता पठाएको हो । उक्त पार्टीले जनाएअनुसार युवाहरुलाई पीडितहरुको तत्तकाल अस्थायी बसोबास तथा पुनर्निर्माणका निम्ति खटाइएको हो ।

कार्यक्षेत्रमा खट्ने युवाहरुको विदाइ कार्यक्रममा बोल्दै पार्टी महासचिव विप्लवले भूकम्पबाट क्षति पुगेर घरवारविहीन भएका जनतालाई तत्काल बसोबासका निम्ति अस्थायी घरटहरा निर्माण गर्न निर्देशन दिए । ‘जनताप्रति जिम्मेवार राजनीतिक पार्टी भएकाले जनतालाई बसोबासको व्यवस्था गर्नु हाम्रो कर्तव्य हो’ विदाई कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने ।

भूकम्पले ठूलो संकट निम्त्याएकाले अरु सबै कामकाज छाडेर आफ्नो पार्टी जनताको सेवामा लागेको भन्दै नेता विप्लवले युवाहरुलाई प्रभावित ठाउँमा गएर दिलोज्यानले खट्न निर्देशन दिए ।
बिहीबार काठमाडौँको डिल्लीबजारस्थित पद्मकन्या उच्च माध्यमिक विद्यालयमा आयोजित बिदाई कार्यक्रममा बोल्दै महासचिव विप्लवले विभिन्न जिल्लाबाट आएका युवाहरुलाई भूकम्पले क्षति भएका ठाउँमा गएर जनताको सेवा गर्न दिर्नेशन दिएका हुन् ।

माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सोही कार्यक्रममा बोल्दै सरकारले पीडित जनताको न्यूनतम् आवश्यकता समेत पूरा गर्न नसकेकाले आफूहरुले युवा परिचालन गर्नुपरेको बताए । प्रवक्ता प्रकाण्डले सरकार र सरकारको नेतृत्वकर्ता पार्टीले जनतामाथि चरम विभेद गरेर आ–आफ्नै कार्यकर्तालाई मात्र राहत बाँडिरहेको बताए ।

                                                              biplop

महासचिव विप्लवले गोरखा, सिन्धुपाञ्चोक, काभ्रे, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत अति प्रभावित १२ जिल्लामा युवाहरु परिचालन गर्ने निर्णय लिइएको बताए । माओवादी केन्द्रीय कार्यालयले जनाएअनुसार गोरखा र सिन्धुपाल्चोकमा माओवादी युवाहरुका दुई–दुई समूह खट्नेछन् भने बाँकी दस जिल्लामा एक–एक समूह क्रियाशील हुनेछन् ।

काठमाडौँ र ललितपुरमा घरवारविहीन बनेका भूकम्पपीडितहरुका निम्ति स्वयम् सम्मिलित टोली परिचालन गरेर घरटहरा निर्माण गर्दै क्रियाशील भएका महासचिव विप्लवले भूकम्पद्वारा अति प्रभावित क्षेत्रमा पहिलो चरणमा दुई सय युवा खटाइएको जानकारी दिए । उनले दिएको जानकारीअनुसार टोलीहरु कम्तिमा १५ दिन खट्नेछन । त्यसपछि उक्त क्षेत्रमा बाँकी कामका लागि फेरि टोली पुगेर अघिल्लो टोलीलाई पालो दिने छ ।

भूकम्पद्वारा अतिप्रभावित क्षेत्रमा खटिएका युवाहरुलाई अस्थायी घर, टहरा निर्माणबारे विज्ञ इन्जिनियरहरुद्वारा आधारभूत तालिम समेत दिइसकिएको नेकपा माओवादीले जनाएको छ । इन्जिनियर उमेश मरहट्ठा, निरज महर्जन, विना मल्ल, नलविक्रम थापा र पुष्पले घर निर्माणका विभिन्न पक्षबारे माओवादी युवाहरुलाई प्रशिक्षण दिएका थिए । मरहट्ठा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कार्यरत छन् ।

बीस समूहमा विभाजित दुई सय युवाहरुमध्ये प्रत्येक समूहमा एक–एकजना समूहनेता तोकिएका छन् उनैले नेतृत्व गर्नेछन् समग्र टोलीको । सबै समूह शुक्रबार बिहानै आ–आफ्नो कार्यक्षेत्रतर्फ प्रस्थान गरिसकेको माओवादीले जनाएको छ । महासचिव विप्लवलगायतका नेताहरु शुक्रबार गोरखा र त्यसपछि सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: