आवश्यक रणनीति नबनाउदा ठूलो क्षती– नेता नेपाल

काठमाण्डौ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले भूकम्पका हिसाबले नेपाल उच्च जोखिमको मुलुक भए पनि त्यसलाई सामना गर्ने आवश्यक रणनीति र संयन्त्र बनाउन नसक्दाको परिणाम स्वरुप ठूलो जनधनको क्षति भोग्नुपरेको बताएका छन् ।

व्यवस्थापिका–संसद्को शनिवारको विशेष समयमा भाग लिँदै उनले भने–’यद्यपि यस पटकको भूकम्पले राजनीतिक दल र सर्वसाधारण जनतालाई एकताको पाठ सिकाएको छ, त्यो अत्यन्तै प्रशंसनीय छ ।’

राज्यका संयन्त्रले समन्वय गरेर अघि बढ्ने मामिलामा कमजोरी देखिएकाले राहत वितरणमा एकरुपता नदेखिएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले जनताको आवश्यकता र मागलाई सम्बोधन गर्ने हिसाबले राहत र पुनःस्थापनाका काम अघि बढाउनुपर्ने औँल्याए ।

दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले संविधान निर्माण, अन्तर्रा्ष्ट्रिय विमानस्थल र द्रुत राजमार्ग निर्माण तथा भूकम्पपछि पुनःनिर्माण गर्दा व्यवस्थित रुपमा बस्ती बसाल्ने काममा सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्: