इन्जिनियरसहितको टोली गाँउ–गाँउमा

बनेपा । भूकम्पका कारण काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति भएपछि त्यहाँकोे ४१ गाविसको विभिन्न स्थानमा इन्जिनियरसहितको टोली पुगेको छ ।
भूकम्पबाट गाउँगाउँमा भएको वास्तविक क्षतिको आँकलन गरी राहत वितरणमा सहयोग र्पुयाउन र तथ्याङ्क सङ्कलन गर्न अधिकृतको नेतृत्वमा पाँच सदस्य टोली गाउँगाउँ परिचालन भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जानकारी दिए ।

अहिले सो टोली जिल्लाको दुर्गम क्षेत्र डाँडापारीका गाविस नगए पनि खास गरी भूकम्पबाट बढी प्रभावित क्षेत्र मानिएको पाँचखाल, अनेकोट, गैरीविसौना देउपुर, देवीटार, रविओपी, ढुङ्खर्क, कोसीदेखा, विर्तादेउराली, गोठपानी, च्याम्रेङबेँसीलगायत गाविस तथा स्थानमा परिचालन भएको सो टोलीले एक महिनासम्म काम गर्ने उनले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आएका २५ इन्जिनियर, जिल्लाका सव इन्जिनियर र ओभरसियरसहित करिब ४१ जनाको टोलीले क्षतिग्रस्त घरको अवस्था, उनीहरूलाई उपलब्ध गराउनुपर्ने सहयोगको आँकलन गर्नेछ ।

प्रजिअ ढकालले जिल्लाको ७६ गाविसमा नै इन्जिनियरको टोली परिचालन गरिने उल्लेख गर्दै पर्याप्त मात्रामा जनशक्ति नहुँदा कठिनाइ समेत देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्: