एमालेद्धारा सरकारी भवन कब्जा, पार्टी कार्यालय बनाएको खुलासा

पारस तिम्सिना/

झापा ।नेकपा एमाले कुमरखोद झापाले बर्षाैंदेखि सरकारी भवन कब्जा गरी पार्टी कार्यालय बनाएको खुलासा भएको छ । मध्य दक्षिणी झापाको कुमरखोद– ९ मा रहेको राणाकालिन भवन एमालेले कब्जा गरी पार्टी कार्यालय बनाएको हो । एमालेले सो भवनमा कुमरखोद गाविस स्तरीय पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ ।

२०४७ देखि नै सो भवन एमालेले कब्जा गरी एकलौटी रुपमा पार्टी कार्यालय बनाएको बताउदै टाघनडुब्बा निवासी देबीप्रसाद अधिकारीले भने–‘एमालेले यहाँ गैर जिम्मेवार काम गरेको छ, सरकारले तुरुन्त कारवाही गर्नु पर्छ ।’ उनका अनुसार उक्त भवनमा २०३९ साल सम्म हुलाक कार्यालय सञ्चालित थियो ।

त्रिभुवन प्राबी, गाविस भवन र सामुदायिक भवनको परिसरमा रहेको राणाकालिन भवनमा २००७ साल अघिसम्म मेची अञ्चलका बडाहाकिम बस्ने गर्दथे । पछिल्लो समयमा २००७ सालमा अन्तिम बडाहाकिम रुद्र सिंह (राजपुत) रहेको स्थानीय बृद्ध उगनलाल गणेशले बताए ।

राणाकालमा सो भवनबाट बडाहाकिमले पुर्वाञ्चलका सरकारी कार्यालय नियमन गर्ने गरेका थिए । राणाशासनको अन्त्यसँगै बडाहाकिमको पद खारेज भएसँगै कार्यालय खाली बनेको थियो ।
सरकारी सम्पती हडपेर कसैले पनि बस्न नपाउने बताउदै नेपाल मुस्लिम नागरिक समाजका केन्दीय अध्यक्ष मसरुद्धिन अन्सारीले दण्ड, जरिवाना सहित कब्जा गर्नेलाई कारवाही गर्नुपर्ने बताए ।

नरेन्द्र शर्मा झापाका प्रमुख जिल्ला अधिकारी भएको समयमा आफूहरु कारवाहीको माग गर्दे जिल्ला प्रशासन कार्यालयमा गएको तर हालसम्म पनि कुनै कारवाही नभएकोमा उनले आक्रोश ब्यक्त गरे । उनले भने–‘एमालेको यो रबैया कहिलेसम्म चल्छ ?’ सरकारी निकायको बेवास्ता झन् शंकास्पद रहेको भनाइ उनको थियो ।

द्घन्दकालमा माओवादीले कब्जा गरेका घरजग्गा फिर्ता गर्न दवाव दिने प्रमुख मध्येको एउटा पार्टी एमालेले २५ बर्षदेखि सरकारी सम्पती हडपेर आफूखुसी प्रयोग गर्दा समेत सम्बन्धित निकाय मौन छ । स्थानीयले सो भवन खाली गराई क्षतीपुर्ती समेत भराउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: