‘बिप्लव’ राहत बाड्दै गोरखामा

काठमाण्डौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ले पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईको जन्मथलोमा पुगेर राहत बाँडेका छन् ।
महाभूकम्पको केन्द्र रहेको गोरखाको बारपाक पुगेका बिप्लवले भट्टराईको जन्मथलो खोप्लाङको बेलबास पुगेर राहत बाँडेका हुन् ।

‘आफ्नै गाउँबाट केन्द्रमा पुगेका नेता भट्टराई विपतका बेला गाउँ नआएको गाउलेले गुनासो गरे’ विप्लवसँगै बेलवास पुगेका दीपेन्द्र रावलले भने, ‘हामी सबै माओवादी आन्दोलनकै कार्यकर्ता भएको भन्दै विप्लवले गाउँलेलाई आश्वस्त पार्नुभयो ।’

biplap
प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख तीन दलकै शीर्षनेताहरु गोरखालगायतका अतिप्रभावित क्षेत्रमा हेलिकोप्टर चढेर गएका थिए । विप्लव आफ्ना झण्डै ५० जना कार्यकर्तालाई लिएर गोरखाको मुख्य प्रभावित क्षेत्र बारपाक र नेता भट्टराईको जन्मथलो खोप्लाङको बेलबास पुगेका हुन् ।

काठमाडौबाटै राहत सामाग्री लिएर गोरखा पुगेका विप्लवले वारपाकमा १ सय ५० बोरा चामल, ५५ थान पाल तथा केही कम्बलहरु बुझाए । तर, अन्य ठाउँहरुमा जस्तै विप्लवले पीडितकै हातहातमा आफूले लगेका राहत सामग्री वितरण गर्न भने पाएनन् ।

स्थानीयकै सक्रियतामा गठन भएको राहत संकलन तथा वितरण समितिका संयोजक जीतबहादुर घलेलाई आफ्नो पार्टीका तर्फबाट विप्लवले राहत सामाग्री बुझाए ।
स्थानीयले वारपाक गाविसकै लागि घलेको नेतृत्वमा मूल समिति बनाएका छन् भने प्रत्येक वडामा राहत वितरण उपसमिति गठन गरेका छन् ।

बारपाकका १४ सय ७० घर धुरीमध्ये केही आरसीसी भवनहरुबाहेक सबैजसो घरहरु भत्किएका छन् । केही आरसीसी घरहरु बस्न जोखिमयुक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: