भूकम्पमा कस्ता घर जोगिन्छन, कस्ता भत्किन्छन् ?

काठमाण्डौ । काठमाडौंको पुरानो वस्ती रहेको असन र यसका आसपासका क्षेत्रमा भूकम्पले त्यति धेरै क्षति गरेको छैन । काठमाडौंको माटो र संरचनाको अन्तरसम्बन्ध सम्बन्धि शोधकर्ता इन्जिनियर दिपेन्द्र गौतमका अनुसार काठमाडौंका घना बस्ती भएको असन लगायत धेरै ठाउँमा पहिले अनुमान गरिएजति धनजनको क्षति भएको छैन । उनका अनुसार धेरैजसो घरहरु कम क्षेत्रफलमा बनेका संरचना, आकार प्रकार नमिलाई एवं भिरालो जग्गामा बनेका भवनहरु विशेषतः क्षति भएको देखिएको छ ।

गौतमका अनुसार उपत्यकामा रहेको माटोको प्रकृति, भवन निर्माणमा कार्यकुशलताको कमी, संरचनागत त्रुटी, प्राविधिक लापरबाही र भवनहरुको आयु मुख्यतस् क्षतिका कारण हुन र उनले भने, ‘भवनको जग निर्माण, छनौटमा हुने त्रुटी र प्राङ्गारिक माटोका जोर्नीहरु परम्परागत घरहरुमा हुने क्षतिका प्रमुख कारणहरु हुन् ?’

भूकम्पबाट हुने अव्यवस्तित शहरीकरण र बस्ती विस्तारका कारण खोला किनार, सिमसार जमीन समेत प्लटिङ गरि भवन बनाउनाले पनि क्षति धेरै भएका छन् ।
गौतमले अग्ला र ठूला भवन, साँघुरो गल्ली, धेरै घर झुरुप्प छ भन्दैमा भत्कि नहाल्ने बताए । ‘मानिसहरुले असनमा यस्तै दृश्य देखेर असन सखाप हुन्छ भनेर ‘गेस’ गरेका हुन्,’ उनले भने, ‘यसो हेर्दा जानै डरलाग्दो छ त्यो ठाउँमा घर भत्किहाल्छ भन्ने अनुमानमा घर भत्किहाल्दैन ।’

घर भत्किनको लागि भूकम्प कत्तिको ठूलो आएको हो र त्यो कति समयसम्म आउँछ भन्ने कुराले निर्भर गर्छ । सबै भन्दा धेरै केले क्षति गर्छ भन्ने त्यो सम्बन्धित ठाउँको माटोले भूकम्पलाई कसरी ‘एम्लिफाई’ गर्छ वा ‘डि एम्लिफाई’ गर्छ भन्ने कुराले पनि अर्थ राख्छ । गौतमका अनुसार भूकम्पको धक्कालाई माटोको प्रकृतिले बढाएर वा घटाएर लैजान्छ । त्यही अनुसार घरहरुमा क्षति कम र बढी गर्छ ।

‘चट्टानी माटो छ भने माटोले भूकम्पबाट आउने सिंग्नललाई कम गरेर लिएर जान्छ । इन्टेन्सिटीलाई कमजोर बनाइदिन्छ अर्थात् शक्तिलाई कमजोर बनाउँछ,’ उनले भने, ‘लुज माटो अर्थात् कालीमाटी छ भने त्यस्तो ठाउँमा भूकम्पको क्षति बढी हुन्छ ।’

कालीमाटीले भूकम्पबाट आउने सिंगनलले ‘फरदर इनर्जी गेन’ गर्छ, यस्तो माटोमा करिव १० गुणाले एम्प्लिफिकेसन बढ्न सक्ने गौतम संलग्न एउटा अध्ययनले देखाएको छ । उनले भने, ‘भक्तपुरमा धेरै घर भत्कनुको एउटा कारण यो पनि हो। त्यहा कालिमाटी धेरै छ ।’

माटोको प्रकारसँगै भवनको प्रकारले पनि क्षति कम र बढी हुने गर्छ । गौतमका अनुसार माटोको आफ्नो टाइम पिरियड र भवनको टाइम पिरियड म्याच भयो भने पनि ‘भाइब्रेसन रेजोनेन्स’ हुन्छ । उनी भन्छन्, ‘भाइब्रेसन रेजोनेन्स हुँदा सबैभन्दा बढी क्षति हुन्छ । त्यसैले माटो कस्तो छ र त्यो ठाउँमा कस्ता प्रकारका भवन छन् र कति तले छन् र ती कसरी निर्माण गरिएका छन् भन्ने कुराले पनि निर्भर गर्छ ।’

काठमाडौंको धेरै कम दुरीको फरकमा पनि माटोका प्रकृति फरक फरक छन् । त्यसैले कुनै ठाउँमा गर्ल्यामगुर्लुम्म ढलेका घर नजिकैका अरु घर केही नभएका पनि छन् ।
उनले भर्खरै गरेको एक अनुसन्धानमा बालाजु र हरिसिद्धि जस्ता ठाउँमा धेरै एम्प्लिफिकेसन हुने देखिएको थियो।

‘असन र इन्द्रचोकमा भिडभाड र अग्ला घरहरु छन् । भन्दैमा क्षति त्यही नै बढी हुन्छ भन्ने हुँदैन । यसका लागि सतहसम्म आउने प्रवेग, माटोमा हुने एम्प्लिफिकेसन, भाइब्रेसन रिसोनेन्स र संरचनाका प्रकृति धेरै हदसम्म जिम्मेवार हुन्छन् ।’

काठमाडौंमा मुख्यतय कमजोर माटो (लुज स्वायल) पाइन्छ भने केही ठाउँमा चट्टान पनि पाइन्छ । त्यसमध्ये काठमाडौंका कालिमाटी फर्मेसन, गोकर्ण फर्मेसन, पाटन फर्मेसन र थिमी फर्मेसनले ओगटेका क्षेत्रहरुमा भूकम्प आएको बेलामा जोखिमपूर्ण क्षेत्रको रुपमा लिइने गौतम बताउँछन् । उनी भन्छन् ‘साँखु, भक्तपुर नरम माटोमा रहेका ठाउँहरु हुन् । जहाँ भूकम्पीय असर बढी पर्छ । जुन कुरा १९९० सालको भूकम्पमा पनि देखिएको थियो । र यो पटक पनि देखियो ।’

माटोको प्रकार फरक देखिने वित्तिकै भूकम्पको बेला त्यो माटोले गर्ने व्यवहारमा पनि फरक हुन्छ । उनी भन्छन्, ‘हामीले सय मिटर टाढा वा नजिकका उस्तै किसिमका घरहरु भत्किए वा चर्किए भनेर आश्चार्य मान्नु पर्दैन ।’

यसैगरी भवन निर्माणमा प्रयोग गरिएका सामाग्रीले पनि क्षति बढी वा कम हुने निर्धारण गर्छ । हामीले भवन निर्माणमा कस्ता सामाग्री हालेका छौं त्यसले पनि घर भत्किने नभत्कने निर्धारण गर्छ ।
यस्तै भूकम्प कुन दिशाबाट आइरहेको छ भन्ने कुराले पनि क्षतिको निर्धारण गर्छ

प्रतिक्रिया दिनुहोस्: