आँधिबेहरीले झापामा करोडौको क्षती

उद्धब पुरी/

बिर्तामोड  झापाको विभिन्न ठाउँमा सोमबार साँझ आएको आँधिबेहरीले करोडौको क्षति पुर्याएको छ । उत्तरबाट दक्षिणतर्फ पानीअसिनासहित आएको आंधीवेहरीले दुहागढी गाविसको वडा नम्बर १ र ८ मा सबैभन्दा बढी क्षति पु¥याएको छ।  वडा नम्बर १ मा ३० बढी घरको छानो उडाएको छ, भने, १६ वटा विद्युतीय पोल पूर्ण रुपमा क्षति पुगेको तथा १३ वटा पोलमा आंशिंक रुपमा क्षति पुगेको दुहागढी गाविसका सचिव कविन्द्रविक्रम नेङवाङले जानकारी दिए । उनका अनुसार वडा नम्बर ८ मा पनि केही घर–टहरामा क्षति पु¥याएको छ । आंधीवेरीले छेउको जरासहितको रुख लडाउँदा विद्युतको पोल भाँचिएको छ भने केही लडेका छन् ।

उता शनिअर्जुन नगरपालिकाको विभिन्न वडामा आंधीवेरीले नोक्सान गरेको नगरपालिकाले जनाएको छ । शनिअर्जुन नगरपालिका–३ स्थित रातेखालमा आंधीवहेरीले २४ बढी घर तथा ग्वालीमा क्षति पुर्याएको छ ।

हावासंगै असिना आएपछि भूकम्प तनावमा रहेका सर्वसाधरण झन् त्रासित बनेका थिए । आंधीवहेरीले मानबीय क्षति नभएपनि भौतिक संरचनामा क्षति पु¥याएको छ । शनिअर्जन ३ का रणबहादुर बस्नेतको घर र ग्वाली, सन्तोष निरौलाको ग्वाली, कुलबहादुर बुढाथोकीको घर, चनु दनुवारको घर र ग्वाली, प्रकाश थापाको घर र ग्वाली, कमलबहादुर बस्नेतको घर, मानबहादुर निरौलाको घर, रामबहादुर तामाङको घरमा क्षति पुर्याएको छ ।

उनीहरुको घरको छाना तथा काठ उडाएर खेतबारीमा पुर्याएको छ । त्यसैगरी सुरेन थापाको घर, तिलमाया बिश्वकर्माको घर, चन्द्रबहादुर भुजेलको घर, रामबहादुर तामाङको ग्वाली, केशबबहादुर थापाको घर तथा ग्वाली, टिकाराम कटुवालको ग्वाली, गोमा दनुवारको घर, शिबराज श्रेष्ठको घर, टेकबहादुर श्रेष्ठको घर लगायत २४ बढी घरमा क्षति पुगेको छ ।

त्यस्तै बिजुलीको पोल समेत लडेको छ भने रुख–बिरुवा र मकै वालीमा समेत क्षति पुर्याएको छ । रुखबिरुवा ढलेर बाटो र बिजुलीको ८ वटा पोल लडेर बिजुली समेत अवरुद्ध बनेको छ । घरमा हावाहुरीले क्षति पुर्याएपछि केही मानिस भने त्रिपाल टाँगेर बसेका छन् ।

आंधिवेरीले शनिअर्जुन ३ मा ८ वटा विर्तामोडमा ११ कञ्चनवारी २ वटा, कालिस्थानमा ६ घैलाडुब्बामा ८ गरी ४४ बढी विद्युत्तका पोल पुर्ण रुपमा क्षति भएको प्राधिकरण विर्तामोड प्रविधिक लक्ष्मी अधिकारीले जानकारी दिए । विद्युतीय पोलमा पूर्ण रुपले क्षति भएपछि सोमबारसाँझदेखि नै झापामा विद्युत्त अवरोध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्: