भुकम्प पीडितको पाल सभाषदलाई बाँडियो

काठमाण्डौ । यो बर्षको मनसुन शुरु हुन लागेको छ । भुकम्पबाट घरबार गुमाएर हजारौं जनता खुल्ला आकासमुनी बस्न बाध्य छन् । भुकम्प पीडितलाई संसारभरबाट उल्लेख्य राहत आउदै गरेको छ । यसैक्रममा एकसाता अघि भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले शहरी बिकास मन्त्री नारायण खड्काको उपश्थितीमा एकलाख पाल र खाद्यान्न उपलब्ध गराइन् ।
खड्काले पीडित जनतालाई उपलब्ध गराउनु त कता हो कता उक्त पाल संविधानसभामा लगेर सभाषदलाई बाँडेका छन् । मध्य नेपालका जनता अहिलेपनि राहतको नाममा र समेत देख्न नपाएको यो बेला खडकाले सम्हलेको मन्त्रालयले बुधबार सभाषदलाई पाल बाँडेको हो । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपालका भूकम्प पीडितलाई प्रदान गर्न भनेर दिएको पाल संविधानसभामा वितरण गरिएको हो । पाल वितरणमा चर्को विरोध भएपछि केही सभासदले भने पाल फिर्ता गरेका छन् ।
संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले सहरी विकास मन्त्रालयले दिएको पाल आफूहरुले सभासदलाई वितरण गरेको जानकारी दिए । सबै सभासदले पाल नपाएपछि संविधानसभा भवन नयाँ बानेश्वरमा सभासदहरुबीच नै चर्को विवाद भएको थियो । विवाद भएपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पाल वितरण रोक्न सचिवालयलाई निर्देशन दिएका छन् ।

पाल लिनका लागि नेकपा(एमाले)का सभासद हारालुछ गरीरहेका थिए । प्रवक्ता शर्माले भने लाने सभासदले लगिसके फिर्ता गर्ने तथा नगर्ने कुरा सभासद कै भएको बताए । राप्रपा नेपालका सभासदले भने पाल नलिने भन्दै वितरण प्रक्रियाप्रति नै असहमति जनाएको छ । सो पार्टीका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल टिवटरमा टिवट गर्दै पाल वितरण प्रक्रिया गलत भएको भन्दै आफुहरु भने नलिने बताएका छन् । काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने व्यक्तिगत हिसाबले आफूले पाल नलिएको बताए ।

सरकारी राहत नलिने पहिल्यै घोषणा गरेकाले पाल नलिएको उनको भनाइ छ । काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका सभासद राजेन्द्र पाण्डे, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का उपाध्यक्ष जितेन्द्र देवलगायतले पाल लिन लुछाचुडी गरेका थिए । एमाओवादीले भने पाल दोलखा पठाउने बताएको छ । पाल प्रकरण चर्कदै जाँदा संविधानसभा नयाँ बानेश्वरमा पाल लिने र नलिने सभासदहरु दूई धु्रवमा विभक्त भएका छन् ।

राप्रपा नेपालले जनता खुला आकाशका बसीरहेको बेला आफुहरु पाल नलिने र लिएको भएपनि फिर्ता गर्ने बताएको छ । एकीकृत नेकपा(माओवादी)ले भने संसद सचिवालयले वितरण गरेको पाल बुझेर दोलखाका भूकम्प पीडितलाई पठाएको छ । एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले भने आफ्नो पार्टीका कुनै सभासदले पाल लिएको भए दोलखा पठाउन निर्देशन दिएको बताए ।

पाल वितरण गर्ने कुरा हामीलाई थाहा थिएन । जनताले पाल नपाएको बेला पाल वितरण भइरहेको छ । निजी ढङ्गले लिएका छन् । हाम्रो तर्फबाट रोक्न लगाएको र लिएकालाई दोलखा पठाउन निर्देशन दिइएको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: