मंगलबारको भूकम्पमा ५७ जनाले ज्यान गुमाए

काठमाण्डौं । मंगलबार आएको शक्तिशाली भूकम्पले काठमाण्डौंसहित आसपासका जिल्लामा ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ११ सय बढी घाइते भएका छन् ।
आठ हजार बढीको मृत्यु हुने गरी विनाशकारी भूकम्प गएको १८ दिनपछि ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । मंगलबार १२ बजार ५४ मिनेटमा भूकम्प गएपछि लगातार पराकम्पन भएको थियो । भूकम्पमा परी १ हजार १ सय १७ जना घाइते भएका छन् ।
सबैभन्दा ठूलो क्षति दोलखा र सिन्धुपाल्चोकमा भएको छ । दोलखामा ३४ जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटसहितका स्थानमा ठूलो क्षति भएको छ ।
सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु भएको छ । जसमा एक जनाको भूकम्पका कारण हृदयघात भएर निधन भएको हो ।
रामेछाप र सिन्धुलीमा २ र २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । धनुषा, सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ३५५, ललितपुरमा १६८, भक्तपुरमा १८२, सिन्धुपाल्चोकमा १००, दोलखामा २४ र काभ्रे ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यसअघि वैशाख १२ गते ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पमा परी ८ हजार १५१ जनाको मृत्यु भएको छ भने झण्डै १८ हजार घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: