प्रधानमन्त्री कार्यालय सार्ने तयारी

काठमाण्डौ । भूकम्पका कारण मुलुककै सबैभन्दा ठूलो प्रशासनिक भवन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयसहित केही मन्त्रालयका भवन भत्किन लागेपछि सरकारले सुरक्षित स्थानमा सार्ने योजना अघि बढाएको छ ।

गत बैशाख १२ गते र दोस्रो पटक गत मंगलबार गएका ठूला भूकम्पका कारण प्रधानमन्त्री कार्यालयसहित अन्य मन्त्रालय बस्न अयोग्य बनेका छन् । यी मन्त्रालय सुरक्षित स्थानमा सार्न लागिएको सिंहदरबार पुनर्निर्माण समितिका प्रशासकीय प्रमुख रामप्रसाद बेलबासेले बताए ।

                                                                                          pm

उनका अनुसार चन्द्रशमशेरका पालामा निर्माण भएका अधिकाँश भवनमा बसेर कार्यसम्पादन गर्न अयोग्य भएकाले सुरक्षित स्थानमा सार्न लागिएको हो । समितिका अनुसार सामान्य प्रशासन मन्त्रालय, सर्वोच्च अदालतको मुख्य भवन, महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय योजना आयोग, युवा मन्त्रालय, श्रम मन्त्रालय, सिंहदरबार सुरक्षा गणको भवन परीक्षण गर्दा बस्न अयोग्य देखिएको छ ।

यस्तै प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयको केही भाग पनि प्रयोगमा ल्याउन नसकिने अवस्थामा छ । बेलबासेका अनुसार बस्न अयोग्य भनिएका मन्त्रालयसहित अन्य निकायलाई अस्थायी रुपमा विभिन्न स्थानमा स्थानान्तरण गर्ने तयारी सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: