राजदूत डा. कार्कीको अमेरिकी विदेशमन्त्री केरीसँग भेटवार्ता

वासिङटन डीसी । संयुक्त राज्य अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले त्यहाँका विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गरेका छन् ।
कार्यकाल सम्हाल्न हालै वासिङ्टन पुगेका राजदूत डा. कार्कीले त्यहाँको स्टेट डिर्पाटमेन्टमा आफ्नो ओहोदाको प्रतिलिपि बुझाउने क्रममा केरीसहितका उच्च अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका हुन् ।

उनले डेपुटी सेक्रेटरी अफ स्टेट हैदर हिगिनवटमलाई आफ्नो अहोदाको प्रमाणपत्रको प्रतिलिपि बुझाए । सो अबसरमा उनले एसिस्टेन्ट सेक्रेटरी अफ स्टेट नीशा देसाई बिशवालसँग पनि भेटवार्ता गरे । आगामी मे १८ तारिखमा उनले राष्ट्रपति बराक ओबामालाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्र रहेको छ ।

केरीसँगको भेटमा राजदूत कार्कीले गत अप्रिल २५ तारिखमा नेपालमा आएको महाभूकम्पपछि उद्दार र राहत प्रकृयामा सहयोग गरेकोमा अमेरिका सरकारलाई धन्यबाद दिँदै भूकम्पपीडितको पुनस्थापनाका लागि पनि सहयोग गर्न आग्रह गरेको दूतावास स्रोतले जानकारी दिएको छ ।

साथै उनले अमेरिकामा बसोबास गरिरहेका हजारौं नेपालीहरुलाई भूकम्प पीडित परिवारलाई भेट्न जान समस्या परेकाले भिसा सकिएका नेपालीहरुलाई टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) प्रदान गर्न समेत आग्रह गरे ।

                                                                                                            11
अमेरिकी अधिकारीहरुको सकारात्मक जवाफसँगै राजदूत कार्कीले स्टेट डिपार्टमेन्ट मार्फत् डिर्पाटेमन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई यस्तो मान्यता प्रदान गर्न पत्राचारसमेत गरेका छन् । यस्तो मान्यता दिएमा अमेरिकाबासी हजारौं भिसाविहीन नेपालीहरु आफ्ना परिवारलाई भेटन नेपाल आउन तथा अमेरिकामा १८ महिनासम्म बैधानिकरुपमा काम गर्न पाउनेछन् ।

साथै राजदूत कार्कीले नेपाली तयारी पोशाक तथा गलैंचा लगायतका उत्पादनलाई अमेरिकी बजारमा सहज पहुँचका लागि सहयोग गर्न समेत आग्रह गरेका छन् ।
विश्व बैंक र अमेरिकी उच्च अधिकारीसँगको भेटमा राजदूत कार्कीले नेपालमा भूकम्प पीडितका लागि भइरहेको प्रयासको जानकारी दिँदै प्रधानमन्त्री राहत कोषमार्फत् नै नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: