फरार कैदी पक्राउ

बिर्तामोड । झापा कारागारबाट गएको चैतमा फरार भएका एकजना कैदीलाई प्रहरीले शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । ल्यापटप र मोबाइल चोरी आरोपमा मुद्दा चलाइएका बिर्तामोड नगरपालिका–६ का कमलसेख मियालाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
मिया आफू घरभित्र बसेर बाहिरबाट ढोकामा ताल्चा लगाएको अवस्थामा प्रहरीले ताला तोडेर निकालेको थियो । फरार मिया घरमा आएको भन्ने बिषेश सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
चोरी मुद्दामा फागुन १३ गते पुर्पक्षका लागि झापा कारागार पु¥याइएका २३ वर्षीय मिया चैत ३ गते सोमबार साँझ कारागारमा कैदी बन्दी गन्ती गर्ने क्रममा संख्या नपुगेपछि उनी फरार भएको खुलेको थियो । कारागारबाट कैदी फरार भएको खुलासा भएसँगै प्रशासनले झापाका सहायक प्रमुख जिल्ला अधिकारी रोहितराज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो ।
छानबिन समिति गठन गरेलगत्तै प्रहरीले उनलाई भारतको पूर्णियास्थित एक घरबाट भारतीय प्रहरीको सहयोगमा चैत ७ गते पक्राउ गरेको थियो । तर भारतीय प्रहरीले उनलाई अदालत लाने क्रममा भागेपछि त्यो बेला नेपाल ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: