नेताका घरबाट राहत कब्जा

काठमाण्डौ । काठमाडौको बुढानिलकण्ठ गाविसको चुनिखेलका स्थानीय नागरिकले नेताका घरघरबाट राहत सामग्री कब्जा गरेका छन् ।
बुढानिलकण्ठ– १५ चुनीखेलमा स्थानीय नागरीकले पीडितलाई आएको राहत पार्टी नेताहरुले आफ्ना कार्यकर्तालाई मात्रै बाँडेको भन्दै नेताका घरमा गई राहत सामग्री कब्जा गरेका हुन् ।

राज्यकोषबाट आएको राहत सामग्री नेताहरुले घरमा लुकाएर राख्ने र आफ्ना मान्छेहरुलाई मात्रै बाड्ने काम गरेकाले जफत गरिएको स्थानीयले बताएका छन् । नागरिक वडामञ्चको पहलमा नवपुर क्लवले राजनीतिक दलका नेताका घरबाट त्रिपाल, कम्बल, चामल लगायतका राहत सामग्री जफत गरेका थिए ।

जफत गरिएका राहत सामग्रीहरु स्थानीयवासी तथा पीडितहरुबीच छलफल गराएर बाँडिने बताइएको छ । नेपाली कांग्रेसका वडा समिति सभापति हरीराम श्रेष्ठ लगायतका घरबाट राहत सामग्रीहरु स्थानीयले जफत गरेका हुन्।

कांग्रेस १५ नम्बर वडाका सभापति हरीराम श्रेष्ठले नेपाली कांग्रेस ४ नम्बर क्षेत्रका सभापति नुत्सेनारायण श्रेष्ठले रामदेवबाट ल्याएको राहत सामग्री भनी दिएको र आफूले बाँड्न खोज्दा नागरिक वडा मञ्चका भाइनारायण श्रेष्ठले खोसेको आरोप लगाए । उनले १५ वटा पाल र कम्बल तथा महिलाका लागि भनी आएका सामग्रीहरु बाँडन खोज्दा विवाद गरेपछि आफूले छाडिदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्: