भूकम्प प्रभावित जिल्ला गएर के गर्दैछन् प्रचण्ड, बाबुराम र नारायणकाजी ?

काठमाडौं । विनासकारी भूकम्पबाट आहतमा परेका जनतालाई मल्हम लगाउँदै विभिन्न दलका नेता कार्यकर्ताहरु भूकम्प प्रभावित जिल्ला तथा गाउँसम्म जाँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल एमाओवादी सक्रिय रुपमा राहत, उद्धार तथा पुनस्थापनामा केन्द्रीत हुँदै आएको छ ।

सोमबारको केन्द्रीय समितिको निर्णय अनुसार माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु राहत तथा पुनस्थापनामा केन्द्रीत हुने भएका छन् । जेठ ८ गतेबाट सञ्चालन हुने अभियानलाई ‘राज्य पुनः निर्माण अभियान’ को नाम दिएको छ । १० हजारको संख्याका स्वयं सेवकहरुले १५ दिनसम्म अभियान चलाउने छन् । अभियानमा एमाओवादीले सुत्केरी र रोगीबाहेक सबैलाई एकीकृत भएर लाग्नसमेत आग्रह गरेको छ ।
राहत उद्धार तथा पुर्नस्थापनाको लागि एमाओवादीले ७५ वटै जिल्लाका नेता तथा कार्यकर्तालाई भूकम्प प्रभावित जिल्लामा खटाउने भएका हुन् । राष्ट्रिय स्वयंसेवक परिचालनको नेतृत्व पूर्व जनमुक्ती सेनाका डेप्युटी कमाण्डरहरु वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मा र चन्द्रप्रकाश खनालले गर्नेछन् ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अति प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा र दोलखामा अभियानको नेतृत्व गर्दैछन् ।
प्रचण्डले सिन्धुपाल्चोकमा टहरा बनाउँदै                                           baburam
सिन्धुपाल्चोक जिल्लालाई आधार बनाएर एमाओवादी अध्यक्ष प्रचण्ड पुनःस्थापनामा केन्द्रीत हुँदैछन् । सोमबारको केन्द्रीय समितिको निर्णय अनुसार प्रचण्डलाई सिन्धुपाल्चोकको जिम्मेवारी परेको थियो । उनीसँगै माओवादी सचिव वर्षमान पुन ‘अनन्त’, पोलिटब्युरो सदस्य अग्नि सापकोटा जेठ ८ मा सिन्धुपाल्चोक पुग्दैछन् । प्रचण्ड नेतृत्वको टोलीले सिन्धुपाल्चोक क्षेत्रमा अस्थायी बासोबासको लागि घरटहरा बनाउने कार्य गर्ने जनाइएको छ ।
यसअघि राहत कार्यक्रममा जुटेका उनी पछिल्लो समय भूकम्पबाट सबै भन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोकमा पुर्नस्थापना कार्यक्रममा केन्द्रीत बन्न लागेका हुन् । ‘हामी विद्यालयहरु बनाउने छौं, जनताको अस्थायी बासको व्यवस्था गर्नेछौं । ’ सचिव अनन्तले भने – ‘भूकम्पले मानसिक रुपमा बिरामी परेका जनताको उपचारको लागि हामी केन्द्रीत हुनेछौं ।’ उनका अनुसार प्रचण्डसहितको टोलीले सिन्धुपाल्चोकमा सरसफाई तथा खानेपानी र कुलो निर्माण गर्नेछ ।
गोरखामा बाबुरामको अभियान
वरिष्ठ नेता बाबुराम गोरखालाई केन्द्र बनाएर अभियानमा जुटेका छन् । जिल्ला प्रशासन कार्यालय, गोरखामार्फत राहत वितरण गर्दै आएका उनी अहिले अस्थायी बासको लागि प्रयासरत छन् ।
बुधबार नै उनी भूकम्पले अत्यन्त प्रभावित गाविसमा उनी पुग्दै छन् ।

उनका स्वकीय सचिव विश्वदिप पाण्डेका अनुसार बुधबार गोरखाको लाप्राक गुम्दा, बारपाकलगायतका स्थानमा बाबुराम पुग्दैछन् । उनीसँगै इन्जिनयरिङ्ग क्षेत्रका व्यक्तित्व तथा भूगर्भ विद्हरु पनि जाने कार्यक्रम छ । उनीहरुको टोलीसँगै उनले लाप्राकलाई सार्नको लागि पहल गर्ने बताइएको छ ।

वर्षायाम अगाडि नै अस्थायी बस्ती निर्माणको लागि केन्द्रीत हुने कार्यक्रम छ ।
उनीसँगै अर्का नेता जनार्दन शर्मा पनि गोरखामै छन् ।

शर्माका अनुसार गोरखामा सात सयको संख्यामा स्वयंसेवक परिचालन गरिने छ । घर–टहरा बनाउने तथा बाली लगाउने, खेती गर्ने अभियानमा उनको टोली लाग्नेछ । ‘हामी सात सय घरटहरा निर्माण गर्ने सोचमा छौं ।’

शर्माले भने ‘स्थानीय जनतासँगको सहकार्यमा अस्थायी विद्यालयहरु बनाउने हाम्रो योजना हो ।’ त्यस्तै पत्नी हिसिला पनि बाबुरामसँगै गोरखा जाँदैछिन् । यता छोरी मानुषी भने विगत केहि हप्तादेखि इन्जिनियरिङका विद्यार्थीसँगै गोरखाकै विभिन्न गाविसमा अस्थायी घर–टहरा बनाउँदै छिन् ।
नारायणकाजी श्रेष्ठ दोलखातिर
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको टोली दोलखालाई आधार बनाएर पुर्नस्थापना कार्यक्रममा केन्द्रीत बन्दैछ । सोमबारको केन्द्रीय समितिको निर्णयअनुसार उनी दोलखा केन्द्रीत बनेका हुन् । श्रेष्ठ पनि अस्थायी घरटहरा निर्माणमा केन्द्रित हुनेछन् । ‘हामी पहिले एउटा विद्यालयको अस्थायी टहरा बनाएर उद्घाटन गर्नेछौं, ’ उपाध्यक्ष श्रेष्ठले भने – ‘ त्यसपछि हामी दोलखा भरि पुर्नस्थापनामा केन्द्रीत बन्नेछौं ।
उनका अनुसार भूकम्पमा परेका भग्नावशेषबाट अन्नपात निकाल्ने, अस्थायी टहरा निर्माण गर्न टोली परिचालन हुँदैछ । ‘बस्ती नै बनाउन सकिँदैन’ उनले भने ‘ बर्षाअगाडी नै अस्थायी टहरा बनाउन सकिन्छ ।’

उनी नेतृत्वमा वाइसिएल अध्यक्ष गणेशमान पुनसहितको टोली पनि रहनेछ । श्रेष्ठका अनुसार सात गते नै उनीहरुको टोली दोलखा पुग्नेछ । दोलखामा शहिद परिवार वा विपन्न परिवार र भूकम्पबाट निकै पीडित बनेकाहरुलाई विशेष ध्यान दिने श्रेष्ठले बताए ।
बलदेव नुवाकोटतिर
एमाओवादी स्थायी सदस्य तथा पूर्व जनसेनाका डेप्युटि कमाण्डर चन्द्रप्रकाश खनाल ‘बलदेव’ नुवाकोटमा केन्द्रीत बनेका छन् । अबैध राज्यबाट आएको टोलीको नेतृत्व गर्दै एमाओवादी नेता बलदेव नुवाकोटको तुप्चेमा पुर्नस्थापना तथा राहत जुटाउने कार्यमा व्यस्त छन् ।

पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ सहितको टोलीले तुप्चे पुगी राहत वितरण गरिसकेको छ । बहालवाला अर्थमन्त्री रामशरण महतको क्षेत्र भएपनि उनी हालसम्म तुप्चेलगायत नुवाकोटको प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन् ।
पासाङको अभियान राजधानीमै
पूर्व जनसेनाका डेप्युटी कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ राजधानीमै केन्द्रीत हुने भएका छन् । ‘म राजधानीमै केन्द्रीत हुनेछु ।’ पासाङले भने – ‘राजधानीका भूकम्पपीडितको पुर्नस्थापना तथा राहतको लागि पार्टीले खटाएको स्थानमा लाग्नेछु ।’ श्रोतः खवरडबली

प्रतिक्रिया दिनुहोस्: