लक्ष्मी माध्यमिक बिद्यालयमा तालाबन्धी, लाखौको हिनामिना

बिर्तामोड । झापाको शनिअर्जुन ५ लक्ष्मीपुरमा रहेको लक्ष्मी माध्यमिक बिद्यालयमा ब्यवस्थापनले लाखौं रकम भ्रष्टाचार गरेको आरोपमा मंगलबार तालाबन्धी गरिएको छ । चन्दादाता, बिद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य लगायतको समुहले भ्रष्टाचारको आरोपमा बिद्यालयमा तालाबन्धी गरेको हो ।

उच्च मावि स्थापना तथा बिद्यालय सञ्चालनका क्रममा लागेको ऋण तिर्न भन्दै गएको मंसिरमा बिद्यालयले तामझामका साथ श्रीमद भागवत महापुराण आयोजना गरेको थियो । चन्दादाताले प्रदान गरेको रकम मध्ये पुराणको खर्च कटाएर ३३ लाख रुपैया जम्मा हुनुपर्ने स्थानीयको भनाई छ । तर, बिर्तामोडमा रहेको गुडविल बैंकमा ६ लाख रुपैयां मात्र भेटिएको आरोप छलफलमा सहभागीको छ ।

‘बिद्यालयले लगाएको पुराणमा दाताहरु उत्साहित भएर दान गरे, हामीले पनि केही जग्गा दान गरेका हौं, दाता मध्येका एकजना स्थानीय एक चन्दा दाताले भने–‘ हिसाब हेर्न खोज्दा प्रधानाध्यापकले समय मागेर पनि देखाउन सकेनन्, बाध्य भएर हामीले तालाबन्धी गरेका हौं ।’

उनले बिर्तामोडमा रहेको बैंकमा भएको रकम समेत अक्षयकोषको रकम भएको खुलेको बताए ।
पुराणमा ३३ लाख संकलन भएको भएपनि बैंकमा ६ लाख रुपैयाँ मात्र देखिएपछि स्थानीयले अनियमितताको आशंका गरेका हुन् ।

उनीहरुले बिद्यालयको आम्दानी खर्चको हिसाब ब्यवस्थापनले सयम मागेर पनि सार्वजनिक गर्न नसकेको आरोप पनि लगाएका छन् । गत बैशाख २४ गते वास्तविक हिसाव सार्वजनिक गर्न १० दिनको समय मागेको बिद्यालय प्रशासनले बहाना गर्दै समय नाघ्दा समेत हिसाब देखाउन नसकेको अविभाबकको आरोप छ । उनीहरुले चन्दादाताबाट संकलित रकम बैंकमा जम्मा नभएको हुनसक्ने आशंका गरेका छन् ।

चन्दादाता तथा स्थानीयले बिद्यालयमा भ्रष्टाचार भएको आरोपमा बिद्यालयको सहयक प्रअ तथा प्रअ र लेखा कक्षमा ताला लगाएका हुन् । उनीहरुले हिसाब हिनामिना पार्न सक्ने आशंकाले तालाबन्धी गरिएको बताएका छन् । यता बिद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्ताले संकलित रकम मध्ये गत आर्थिक बर्ष र यस बर्षको ऋण तिरेकोले बैंक ब्यालेन्स कम भएको बताए ।

उनले गुडविल बैंकमा आठ लाख रुपैया मौज्दात रहेको बताउदै बिदाको दिन परेकाले प्रतिबद्धता बमोजिम काम गर्न नसकेको बताए । ब्यवस्थापन समितिका सचिब समेत रहेका प्रअ गुप्ताले अध्ययनमा कडाई गरेकाले आफूलाई असफल पार्न अनेक प्रपञ्च रचिएको दावी गरे ।

उनले लक्ष्मी मावि झापाकै उदाहरणीय बिद्यालय भएको बताउदै बिद्यालयको अहित चाहनेबाट त्यस्तो गलत हर्कत भएको बताए । गुप्ताले एक पैसा हिनामिना हुन नसक्ने दावी गर्दै आफ्नो तेजोबध गर्न केही पुराना अबिभाबक लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्: