प्रेस चौतारी झापाको अधिवेशन सर्यो

झापा । प्रेस चौतारी झापाको आठौं जिल्ला अधिवेशनको मिति केही महिना पछि सारेको छ । संगठनको सातौं जिल्ला अधिवेशनले २०६९ असार ६ गते चयन गरेको कार्यसमितिको कार्यकाल आउदो असार ५ गतेसम्म रहेको थियो ।

press

महाभूकम्पका कारण मुलुक नराम्रोसँग प्रभावित बनेको यो विषम परिस्थितिमा जिल्ला अधिवेशन गर्न सहज नहुने निश्कर्ष पछि बसेको जिल्ला कमिटीको नियमित मासिक बैठकले केही महिना पछि सार्ने निर्णय भएको अध्यक्ष गोपाल काफ्लेले जानकारी दिए ।
केन्द्रीय पार्षदसहित जिल्ला कमिटीको विस्तारित बैठकले केन्द्रीय कमिटीको सर्कुलर अनुसार तिथिमिति निर्धारण गर्ने निश्कर्ष निकालेको अध्यक्ष काफ्लेको भनाई छ ।
जिल्ला अधिवेशनको मिति केन्द्रीय कमिटीको सर्कुलरमा जुनसुकै दिन हुनसक्ने भएकोले संगठनका सदस्यहरुको २०७२ सालको सदस्यता नविकरण यसै महिनाभित्र गरिसक्ने बैठकले निर्णय गरेको छ ।

प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषको सदस्य बन्न बाँकी रहेका संगठन सम्बद्ध सबै पत्रकारलाई जेठ मसान्तभित्रै अनिवार्य सदस्यता ग्रहण गरिसक्नु पर्ने गरी बैठकले निर्णय गरेको छ । सदस्यता नविकरण गर्न र उपचार कोषको सदस्यता लिन बाँकी पत्रकारहरुले माइपूर्व क्षेत्रीय कमिटी र माइपश्चिम क्षेत्रीय कमिटीमार्फत् कार्य अगाडि बढाउने पनि निर्णय भएको अध्यक्ष काफ्लेले जनाए ।
बैठकले हालैको महाभूकम्पमा परेर मृत्युवरण गरेका तमाम नेपालीको आत्माको चीर शान्तिको कामना गरेको छ । भूकम्पका कारण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको स्वास्थ्य उपचारमा सरकारले कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ ।
यसैगरी संगठनको मातृपार्टी नेकपा एमालेका नेता, पूर्वमहासचिव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पिता मंगलकुमार उपाध्यायको जेठ ५ गते ९९ वर्षको उमेरमा भएको निधनप्रति शोक व्यक्त गर्दै बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: