भक्तपुरका भूकम्प पीडितको पालको बासः बाघ, चितुवा र सर्पको त्रास

भक्तपुर । भूकम्प र पटकपटकका पराकम्पनका कारण पालमा बसेका भूकम्पपीडितलाई बाघ, चितुवा र सर्पले दुःख दिएपछि रातभरि त्रासैत्रासमा बस्नु परेको छ ।
नगरकोट, वागेश्वरी, सुडाल, छालिङ र चाँगु, दधिकोटको विरुजा, तर्खगाल, गुण्डु, सिपाडोललगायतका क्षेत्रमा बाघ र चितुवाको बिगबिगी बढेपछि यहाँका बासिन्दा रातभरि पालो गरेर सुत्न थालेका छन् ।                                                            bhukampa8

रातभरि पालनजिकै बाघ, चितुवा कराउने र नजिकै अस्थायी गोठभित्र पालिएको बाख्रा, गाईका बाच्छालाई समेत मार्न थालेपछि बाघ र चितुवाको डरले पालो गरेर सुत्नु परेको यहाँका बासिन्दाले बताएका छन् ।

महामञ्जुश्रीनगरकोट नगरपालिकाअन्तर्गत नगरकोट फेदीमा पाल हालेर बसेका नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दिपक लामिछानेले गाउँमा बाघ, चितुवा र सर्पको बिगबिगी बढेपछि रातभरि सुन्नसमेत समस्या परेको बताउनुभयो ।

चाँगुदेखि नगरकोटसम्मको घना जङ्गलबाट आउने बाघ र चितुवाको आक्रमणमा पर्ने डरले यहाँका मानिस पालमा बस्दा पनि राति पालो गरेर बस्नु परेको उहाँले बताउनुभयो । खरिपाटीका निरञ्जन बजगाईंले विगत १० दिनदेखि बाघ, चितुवा र सर्पले दुःख दिएपछि गाउँ नै आतङ्कित बनेको बताउँदै उहाँले भन्नुभयो, “भूकम्पको डर र त्रास त एकातिर छँदैछ, अर्को्तिर गाउँमा फेरि बाघ, चितुवा र सर्पले निकै दुःख दिन थालेको छ, रातभरि पालो बसेर सुत्नुपर्ने भएको छ, साह्रै दुःख पाइयो ।”

यतामात्रै होइन जिल्लाको सूर्य्विनायक नगरपालिका क्षेत्रअन्तर्गत नंखेल, काक्राकारी आशापुरी, सिपाडोल, सूर्य्विनायक र अनन्तलिङ्गेश्वर नगरपालिका क्षेत्रअन्तर्गत दधिकोटको तर्खगाल, बिरुवा, गुण्डु क्षेत्रमा समेत बाघ र चितुवाले आतङ्कित पारेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

सिपाडोलका अनुप कासुलाले जङ्गलबाट आएको बाघ र चितुवाले दुःख दिएर पालमा सुत्न पनि कठिन बनाएको बताउँदै उहाँले भन्नुभयो, “बाघ र चितुवाको बिगबिगी बढेको छ, गर्मी लागेर सर्प पनि उत्तिकै आएको छ, पालमा बस्न पनि निकै त्रास भयो ।” भूकम्प आउने त्रासमा पालमा बसेको र घर नभत्काएका परिवारलाई पनि त्रसित बनाएको छ । उनीहरु घरमा बसाँै भूकम्पको डर पालमा बसौँ चितुवा र सर्पको डर कहाँ गएर बस्ने भन्दै चिन्ता गर्न थालेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले पालमा बस्नेहरुमा सर्पको निकै डर भएको बताउनुभयो । भक्तपुर अस्पतालदेखि भूकम्पपीडितको शिविर र गाउँगाउँमा पालभित्रै सर्प पस्न थालेपछि समस्या परेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: