भीरमा लाश देखिन्छ, निकाल्न सकिँदैन

गोरखा । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शब अझै निकाल्न सकिएको छैन ।

लापु गाविसको हावाडाँडा र सौरपानी गाविसका विभिन्न क्षेत्रमा झरेको पहिरोमा पुरिएकाको शब निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए ।
‘पारिबाट हेर्दा भीरमा लाश देखिन्छ’ उनले भने, ‘पहिरोबाट शब निकाल्न सेना, प्रहरी परिचालन गरेका छौँ । निरन्तर पहिरो खसिरहेको छ ।

शब निकाल्नै सकिएन ।’
‘भूकम्पमा परी ज्यान गुमाउनेहरूको पहिचान भइसकेको छैन’ उनले भने, ‘कुन भीरमा कसको लाश हो भन्नेबारे पनि एकिन भएन ।’

मनास्लु पदमार्गको विभिन्न ठाउँमा खच्चड गोठालो र भरिया पुरिएको हुनसक्ने आँकलन गरिएको छ । पदमार्ग खुलाउनका लागि ६० सशस्त्र प्रहरी र ५२ नेपाली सेना परिचालन गरिएको छ ।
‘हेलिकोप्टरले ठाउँठाउँमा सेना, प्रहरी झार्नुपर्ने देखिन्छ’ प्रजिअ तिमल्सेनाले भने, ‘५० र ५० जनाको समूह बनाएर मनास्लु पदमार्गमा झरेको पहिरो पन्छाउनुपर्छ ।’ अबरुद्ध बाटो खुलाउँदा पहिरोभित्र पुरिएका लाशहरू झिक्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: