रसुवामा अझैँ ५ सय २५ जना वेपत्ता

नुवाकोट । भूकम्पपछि रसुवामा हराइरहेकामध्ये ५ सय २५ जना नागरिक मृत या जीवित कुन अवस्थामा छन् अझैँ भेटिन सकेका छैनन् । अहिलेसम्म ५ सय ८१ जनाको मृत्यु भइसकेको रसुवा जिल्लाभर बैशाख १२ गतेको भूकम्पले यहाँ मात्रै यति ठूलो संख्यामा मानिसहरु वेपत्ता भएको अनुमान गरिएको छ ।

यीमध्ये अधिकाँश भूकम्पका कारण गएको पहिरोले पुरिएका हुन् । rasuwa
प्रहरीका अनुसार वेपत्तामध्ये एकसय जना पर्यटक गाइड तथा भरिया, २ सय ५० पर्यटक, १ सय ५० जना स्थानिय र मैलुङस्थित त्रिशूली १ जलविद्युत् आयोजनामा कार्यरत २२ जना मजदुर छन् ।

रसुवाको रसुवागढी क्षेत्रमा गएको पहिरोमा अझैँ पनि दर्जनौँ नागरिक बेपत्ता नै छन् । रसुवागढी र मैलुङ क्षेत्रमा चट्टानसहितको अग्ला पहाडबाट खसिरहेको पहिरो र लाङटाङमा खसेको हिमपहिरोको दलदलका कारण पुरिएकाहरु उत्खनन् गर्न कठिनाई भइरहेको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईले जानकारी दिए । ‘जोखिमपूर्ण पहिरो छन्, जान सकिने अवस्था छैन, ’ उनले भने, ‘लाङटाङमा त गाउँ नै पुरिएकोले खोज्न मुस्किल छ ।’
रसुवागढीस्थित सीमानाका सामुन्ने अगाडीको पहाड खसेर भन्सार कार्यालय, अध्यागमन कार्यालय लगायत थुप्रै भौतिक संरचना पुरिएका छन् भने भन्सारका ४ कर्मचारीसहित दर्जनौ मानिसहरु पुरिएको आशंका गरिएको छ । उद्धार र उत्खननमा नेपाली सेना र नेपाल प्रहरीका २५–२५ र चिनियाँ प्रहरी बलका १६० जना गत हप्तादेखि जुटिरहेका छन् ।

सरकारी कर्मचारीसमेत परेको रसुवागढीको सो क्षेत्रमा अहिलेसम्म चार नेपालीको शव भेटिए पनि ५ सय मिटर माथिबाट झरेको चट्टान मात्रको पहिरोले पुरिएका मानिसहरु खोज्न थप कठिनाई हुने देखिन्छ । चट्टान फुटाई साबिकको जमिन सम्याएर सतहमा पुग्न ३७ वटा चिनियाँ ठूला यन्त्र प्रयोग भइरहेको बताइएको छ ।

जङ्गबहादुरका माहिला भाइ बमबहादुर राणाको नेतृत्वमा गएको फौजले तिब्बतसँग विसं १९११ मा लडाइँमा जुट्दा नेपाली फौजले सो गढी बनाएका थिए । सो गढी ठूल्ठूला ढुङ्गाले बनाइएको थियो ।

तर, अहिले पहिरोले पुर्नुका सार्थ संरचना नै ध्वस्त बनाएको छ ।
हराइरहेका हरुको अहिलेसम्म सास न लास नै भेटिन सकेको छ । किनकी रसुवाका लाङटाङ, हाकु र रसुवागढीमा गएको पहिरोले पुरिएर थुप्रै नागरिक बेपत्ता नै छन् । कतिपय शव उत्खनन गरी सेना र प्रहरीले परिवारको जिम्मा लगाइसकेको छ । कति जना बेपत्ता छन् भन्नेमा प्रशासन अन्योलमै छ । उद्धारका लागि हेलिकप्टर व्यवस्था गर्न नसक्दा सीमा क्षेत्र टिमुरेमा बेपत्ताको खोजी हुन सकेको छैन । त्यसका लागि चीनसँग आग्रह गरिसकिएको प्रशासनको भनाइ छ ।

यता लाङटाङ क्षेत्रमा हिमपहिरोले पुरिएका १२ जना विदेशी नागरिकसहित ४ सय २८ जनामध्ये केही मानिसको उत्खनन बाँकी नै छ । रसुवाकै हाकु पहिरोमा जलविद्युत् आयोजनामा काम गर्ने पश्चिम नेपालका मजदुरसहित ६० जना पुरिएकोमा १४ जनाको शव भेटिएको छ भने बाँकी भेटिएका छैनन् । अझैँ पहिरोमै वेपत्ता छन् ।

‘आयोजनाका सडक खन्दा गरिएको ब्लास्टिङकै कारण बाटोभरि पहिरो नै पहिरो छ ।, डीएसपी पोखरेल भन्छन्, ‘कतै शव झिकिए पनि चिन्न सक्ने अवस्थामा छैन,’ उनले बताए ।

रसुवागढी नाका सञ्चालनमा

भूकम्पपछि पहिराले पुरिएको नेपालको उत्तरी चीनसँगको प्रमुख व्यापारिक मार्ग तथा ऐतिहासिक नाका रसुवागढीमा यातायातका साधन सञ्चालन भएको छ । गत वैशाख १२ को विनाशबकारी भूकम्पपछि करिब ५०० मिटरमाथिबाट आएको पहिरोबाट क्षतिग्रस्त मितेरी पुलमाथि चिनिया बेलीब्रिज जडान गरेपछि सवारीसाधन बुधबारदेखि सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । यसअघि पहिरोले यो नाका पूर्ण रुपमा पुर्ण रुपमा ठप्प थियो ।

स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको पुरिएको यो नाका नेपाली सेना र प्रहरीले मात्रै संभव नभएपछि नेपालले यथाशीघ्र छिटो उत्खनन् गर्न चिनियाँ सरकारी अधिकारीलाई आग्रह गरी पहिरो पन्छाएको हो । अब प्रजिअ भट्टराईले पहिले हराइरहेका मानिस धेरै हुनसक्ने हुँदा त्यसको उत्खनन गर्न्तिर लाग्नुपर्ने बताए । ‘त्यसपछि पुरिएका सामग्री खोज्न र सडक पुनः सञ्चालन गराउनुपर्ने अवस्था छ, उनले भने, ‘नाकाको थप व्यवस्थापनमा लाग्न दुवै देशका उद्धारकर्मीलाई अनुरोध गरिसकिएको छ ।’ नेपाल र चीन जोड्ने रसुवागढी नाका पुग्ने बाटो पूरै क्षतविक्षत छ । यता चीनले भने आफ्नो क्षेत्र केरुङ हुआन प्रान्तबाट बाटो खुलाउने कार्य सुरु गरेको छ ।

त्यहाँबाट रसुवागढीतर्फ छिट्टै अघि बढिने सीमास्थित चिनियाँ अधिकारीहरुले जनाएका छन् । रसुवागढीस्थित सीमानाका सामुन्ने अगाडीको पहाड खसेर भन्सार कार्यालय, अध्यागमन कार्यालय लगायत थुप्रै भौतिक संरचना पुरिएका छन् भने भन्सारका ४ कर्मचारीसहित दर्जनौ मानिसहरु पुरिएको आशंका गरिएको छ । घटना भएको ठाउँमा उद्धारकर्तासमेत जान जोखिमपूर्ण रहेको रसुवाका डिएसपी पोखरेलले जानकारी दिए ।

‘पहिरोले जाने सक्ने स्थिति छैन, पूरै सडक पुरिएको छ,’ उनले भने, ‘भन्सार कार्यालयसहित ५ वटाभन्दा बढी कन्टेनर पुरिएका छन, कति संख्यामा मान्छे पुरिए, यकिन तथ्य पत्ता लाग्न सकेको छैन ।’ सडक मार्ग पूरै पुरिएकाले खोजी कार्यका लागि जानेहरू पनि ज्यान हत्केलामा राखेर जानुपर्ने अवस्था छ । त्यसैगरी रसुवागढीमा पुरिएको सडकको ट्रयाक खोल्ने कार्यसमेत सम्पन्न भएको र सोका लागि नेपाल प्रहरी, नेपाली सेना र चिनियाँ सेना गत दुई हप्तादेखि पहिरो पन्छाउने कार्यमा जुटेका थिए ।

सडकको साविक सतहमा पुग्दा भन्सारका दुई कर्मचारी, एक स्थानीयवासी र एक सवारी सहचालक र पुरिएका कन्टेनरका टुक्रा मात्र भेटिएको र पुरिएका अन्य शव फेला नपरेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा ३०÷३५ जना पुरिएको आशङ्का गरिएको थियो ।

काठमाडौँदेखि केरुङसम्म यातायात सञ्चालन हुने वातावरण सिर्जना भए पनि स्याफ्रुवेसीदेखि रसुवागढीसम्मको सडकमा माथिबाट ढुङ्गा खस्ने क्रम नरोकिएकाले होसियारपूर्वक सवारी चलाउनुपर्ने सहायक प्रजिअ गौतम रिमालले जानकारी दिए । सो भन्सार परिसरमा सिल गर्न बाँकी रहेका ११ वटा कन्टेनरहरूसमेत पुरिँदा करोडौँको सामान नष्ट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: