त्रिभुवन विमानस्थलमा खुकुरी प्रहार, घाइते नर्भिक अस्पतालमा

काठमाण्डौ । उच्च सुरक्षाव्यवस्था रहेको त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमै एक व्यक्तिलाई खुकुरी प्रहार भएको छ । विदेशबाट आएका आफन्त लिन पुगेका मधुसुदन पौडेललाई अन्तर्रा्ष्ट्रिय टर्मिनल अगाडि विमानस्थल हवाई यातायात यात्रुसेवा लिमिटेडका सदस्य राजकुमार गुरुङले खुकुरी प्रहार गरेका हुन् ।

शुक्रबार साँझ ७ बजे निजी गाडी लिएर आफन्त कुरिरहेको अवस्थामा अन्तर्रा्ष्ट्रिय टर्मिनलको आगमनकक्ष अगाडि प्रहरीकै सामुने गुरुङले पौडेलमाथि तीन पटक दाहिने हातमा खुकुरी प्रहार गरेका थिए ।

निजी गाडीसहित गेट बाहिर उभिइरहेका काठमाडौंको गैह्रीधारका ३३ वर्षीय पौडेलमाथि रातो प्लेटको ट्याक्सी विमानस्थलभित्र चलाएको भन्दै तीन युवासहित आएका गुरुङले खुकुरी हानेका प्रत्यक्षदर्शीले बताए ।                                                                                        011

खुकुरी प्रहारबाट हातमा गहिरो चोट लागेका पौडेलको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको स्वतन्त्र यातायात मजदुर संगठनका महासचिव भीम ज्वाला राईले बताए । हरियो प्लेटवाला पर्यटन ट्याक्सी चलाइरहेका गुरुङ आवद्ध विमानस्थल हवाई यातायात यात्रुसेवा लिमिटेडले मिटर ट्याक्सीमा चढ्न चहाने यात्रुलाई समेत धम्क्याउने गरेको महासचिव ज्वालाले बताए ।

‘हरियो प्लेटवाला ट्याक्सीवालाले विमानस्थलमा दादागिरी गरेको परिणाम उनीहरुले खुकुरी हाने’, महासचिव ज्वालाले भने, ‘अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आउने यात्रुले मिटर ट्याक्सी चढन् पाउनुपर्यो । यो समस्या हामीले मन्त्रालयसम्म लाँदा पनि हल हुन सकेको छैन ।’

हवाई यात्रु सेवा लिमिटेडले राखेका १० जना स्वयम्सेवकलाई गुण्डागर्दीमा प्रयोग गर्दा विमानस्थलका मिटर ट्याक्सी चालक असुरक्षित भएको ज्वालाको भनाइ छ । घटनापछि खुकुरी प्रहार गर्ने गुरुङलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

गुरुङविरुद्ध पीडितपक्षले जाहेरी दिएपछि कारबाही अघि बढाइने गौशाला वृत्तका डिएसपी राकेश सिंहले जानकारी दिए । त्रिभुवन विमानस्थलको सुरक्षामा डिआईजीको नेतृत्वमा प्रहरी खटिएका छन् । घटनापछि त्यहाँस्थित ट्याक्सी चालकहरुले सुरक्षाको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: