आफूसँग यौनसम्पर्क राख्नुपर्ने सर्त

एजेन्सी । श्रीलंकाको खेलकुद मन्त्रालयले यहाँको राष्ट्रिय महिला क्रिकेट टोलीका केही खेलाडीलाई टोलीमा पर्न बोर्ड पदाधिकारीले आफूसँग यौनसम्पर्क राख्नुपर्ने सर्त अघि सारेको खुलासा गरेको छ ।

मन्त्रालयले बनाएको एक छानबिन समितिले महिला खेलाडीलाई यौनसम्पर्कका लागि बोर्ड पदाधिकारीले बाध्य बनाएको प्रमाण फेला परेको समाचारमा जनाइएको छ ।

आफ्ना केही पदाधिकारीले महिला क्रिकेटरलाई राष्ट्रिय टोलीमा पर्न यौनसम्पर्कको लागि बाध्य बनाएको आरोप लागेपछि श्रीलंकाली क्रिकेट बोर्डले गत नोभेम्बरमा छानबिन समिति गठन गर्न निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा महिला खेलाडीलाई यौनसम्पर्कको प्रस्ताव राखिएको आरोप सत्य भएको उल्लेख गरिएको छ ।

’छानविन समितिले श्रीलंकाली क्रिकेट बोर्डका महिला व्यवस्थापन समितिका केही सदस्यले राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीलाई यौनसम्पर्कका लागि बाध्य बनाएको प्रमाण फेला परेको’ श्रीलंकाको खेलकुद मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले दोषी व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने पनि स्पष्ट पारेको छ ।05

गत अक्टोबरमा श्रीलंकाको एक अखबारले सिनियर महिला खेलाडीलाई उद्घृत गर्दै बोर्ड पदाधिकारीले टोलीमा पर्ने भए आफूसँग यौनसम्पर्क राख्नुपर्ने प्रस्ताव तेर्स्याएको खुलासा गरेको थियो ।

ती सिनियर खेलाडी राष्ट्रिय टोलीबाट फालिएकी थिइन्। उनको आरोप थियो, ’बोर्ड पदाधिकारीको त्यस्तो अनुचित प्रस्ताव स्वीकार नगरेकाले म टोलीमा परिनँ ।’

श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टोलीले गत बुधबार वेस्ट इन्डिजसँग ३(१ ले एकदिवसीय शृंखला गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्: