नेपाली सेनाद्धारा सवा २४ करोड रुपैयाँ सहयोग

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली सेनाले सवा २४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधान सेनापति गौरव समशेर जबराले २४ करोड २६ लाख रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुककमा ८२ वर्षपछि आएको भयङ्कर ठूलो विपत्तिमा नेपाली सेनाले प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण र भग्नावशेषहरु हटाउन प्रशंसनीय कार्य गरेको बताए ।

सहयोग रकम हस्तान्तरण कार्यमा प्रधान सेनापति जबराले यस पटकको भूकम्पमा हजारौं नेपाली सेनाका बहालवाला र भूतपूर्व सैनिकहरुको आवास भवन क्षतिग्रस्त भएको बताएका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा लोकतन्त्रले स्वभाविक रुपमा विकसित हुने मौका नपाएकोले हरेक क्षेत्रमा संस्थागत विकास हुन नसकेको बताए । उनले संस्थाहरुको क्षमता अभिवृद्धि गरेर यस्ता प्रकोप व्यवस्थापन गर्न राष्ट्रिय क्षमता बढाउन आवश्यक रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्: