उड्दै गरेको जहाजमा मृत्यू

काठमाडौं । मलेसियाबाट काठमाडौं आउँने क्रममा जहाजमै एक नेपालीको मृत्यु भएको छ । प्युठानको राम्दी घर भएका ३८ वर्षीय गोविन्द बहादुर रोका मगरको क्वालालम्पुरबाट काठमाडौं आउने क्रममा मृत्यु भएको हो । उनी मलेसियाको बजेट एयरलाइन्स एयर एसिया एक्सबाट नेपाल आउँदै थिए । जहाज उडेको एक घण्टापछि उनको मृत्यु भएको बिमानका अधिकारीले बताएका छन् ।

एयर एसियाको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) इन्सेन्टिभ टुर्स एण्ड ट्राभलका कार्यकारी अध्यक्ष हरिमान लामाले मगरको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको बताए ।

air

मगरको मृत्यु हुनाको कारण थाहा हुन सकेको छैन । लामाका अनुसार मगर पहिलेदेखि नै विरामी थिए । उनी पटकपटक नेपाल आउन प्रयास गरेपनि क्वालालम्पुरको विमानस्थलले स्वास्थ्य ठिक नभएको भन्दै रोकेको थियो । उनले भने, ’उनी नेपाल आउन धेरै प्रयास गरेका रहेछन् । तर अन्डर मेडिकेसन भनेर फिर्ता पठाएको थियो ।’

लामाले क्वालालम्पुरबाट काठमाडौं आउने कुनै एयरलाइन्सले उनलाई ल्याउन नमानेको जानकारी दिए । आज भने मगर आफैंले विमानस्थलमा चेक इन हुने बेलामा आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैं लिन्छु भनेर हस्ताक्षर गरेपछि उडाइएको बताइएको छ ।

लामाका अनुसार मलेसियाबाट मगर उडे भनेपछि त्रिभुवन विमानस्थलमा छोरा र भतिजा लिन आएका थिए । उनले भने, ’हामीले उनको स्वास्थ्य परीक्षण गरिएका सबै कागजातहरु उताबाट मगाइसकेका छौँ । के कारणले मृत्यु भएको हो भन्ने पोष्टमार्टम र मेडिकल हिस्ट्री हेरेपछि पत्ता लाग्ने छ ।’ एयर एसियाको जहाज २ बजेर ३० मिनेटमा काठमाडौं अवतरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: