चाइनीज पेस्तोल र तीन राउण्ड गोली सहित १ पक्राउ

चितवन । चितवनको भरतपुर उपमहानगरपालिका–६ यज्ञपुरीमा मध्यरातमा गोली प्रहार गरी एक जनालाई घाइते बनाउने व्यक्तिलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । केही दिनयता चोरीको घटना बढेपछि रातको समयमा गस्ती गर्न खटिएका यज्ञपुरीका स्थानीयमध्ये २३ वर्षीय राजन खड्कालाई गोली प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले नवलपरासीको प्रगतिनगर–९ बस्ने ३० वर्षीय मनिप्रसाद काफ्लेलाई पक्राउ गरेको हो ।                 012

प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले गोली चलेको जानकारी स्थानीयले दिएपछि खटिएको टोलीले अभियुक्त काफ्लेलाई एकथान चाइनीज पेस्तोल, तीन राउण्ड गोली र फायर भएको एक थान खोकासहित बिहान साढे दुई बजेतिर पक्राउ गरेको बताए ।

प्रहरी नायब उपरीक्षक राजन अधिकारी, प्रहरी निरीक्षकद्वय टेकबहादुर कार्की र रुगमबहादुर कुँवरको नेतृत्वमा खटिएको ४५ जना टोलीले काफ्लेलाई पक्राउ गरेको उनले बताए । काफ्लेले प्रहार गरेको गोली लागेर गम्भीर रुपमा घाइते खड्काको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त काफ्ले र उनको साथबाट बरामद पेस्तोल र गोली सार्वजनिक गरेको छ । घटनामा प्रयोग भएको पेस्तोल अवैध रहेको प्रहरीले जनाएको छ । गोली चल्नुको कारण नखुलेको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: