सगरमाथा क्षेत्रमा हिमपोखरी फुट्यो

काठमाण्डौ । सगरमाथा क्षेत्रको एउटा हिमपोखरी सोमबार राति विस्फोट हुँदा केही पुल र बाटो बगाएको छ । यसअघि कहिल्यै अनुगमन नगरिएको छु रावा (स्थानीय नाम) हिमपोखरी विस्फोटपछि खोलामा आएको बाढीको असर पाङबोचेसम्म परेको छ । ल्होत्से र आइल्यान्ड पिकको बीचमा रहेको यो पोखरीबारे सकारी तथा हिमतालबारे काम गर्ने कुनै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संस्थासँग जानकारी छैन ।

ठूला ढुंगासहित गड्गडाउँदै इम्जा खोला बगेपछि खतराको सूचीमा रहेको इम्जा हिमताल विस्फोट भएको हल्ला रातभरि चलिरह्यो । सरकार तथा स्थानीय बासिन्दाले समेत कुन ताल फुट्यो भन्ने मंगलबार बिहानसम्म पत्ता लगाउन सकेनन् ।

ठूला ढुंगा बगाउँदै चर्को आवाजसहित बाढी आएपछि इम्जा नै फुटेको निष्कर्ष निकाल्दै खुम्बु क्षेत्रको पाङ्बोचे र दिङ्बोचेका बासिन्दा मध्यरातमा बस्तीभन्दा माथि डाँडामा चढेका थिए । पोखरी फुटेर बाढी आएपछि पाङ्बोचेसम्म खोलामा पानीको सतह तीन मिटर बढेको स्थानीय बासिन्दाले बताए ।

त्यसैगरी, च्छो रोल्पा हिमताल आसपासको जमिन भूकम्पपछि भासिएको छ । केही वर्षअघि हिमतालमा सतह बढेपछि पानी बाहिर पठाउने क्रममा तालको बायाँपट्टि पुरिएको क्षेत्र अहिले धसिएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: