कतारमा एक नेपालीको मृत्यु

विर्तामोड । बैदेशिक रोजगारका क्रममा कतारमा रहेका झापा, शिवसताक्षीका एक युवाको मृत्यु भएको छ । विगत ५ वर्षदेखि कतारस्थित अलअबद्ली रुपमा फोर्क्लिफ्ट अपरेटरको रुपमा कार्य गर्दै आएका शिवसताक्षी–४, लालपानीका ३५ वर्षीय बिरेन मुण्डाको गत जेठ १२ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

छुट्टी मनाउन गत जेठ ६ गते नेपाल आउने मिति तय भइसकेको अवस्थामा गत जेठ ४ गते साथीभाईहरुसंग हाँसखेल गर्दै बसिरहेको अवस्थामा नै अचानक बेहोस भई लड्ेका उनको उपचारको क्रममा कतारस्थित हमाद अस्पतालमा मृत्यु भएको निजका भाई निरेन मुण्डाले बताए ।

मृतक मुण्डाका बाबु फुलचन मुण्डा, आमा बैशाखी मुण्डा, श्रीमती सुमित्रा मुण्डा तथा २ छोराहरु १२ वर्षका सागर र ११ वर्षका सुरज मुण्डा रहेका छन् । हाल उनको शब हमाद अस्पतालमै रहेको र उनका परिवारको इच्छा अनुसार मृतकको मृगौला र फोक्सो दान समेत दिएको श्रीमती सुमित्राको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: