त्रासदीपूर्ण अवस्थाबाट बौरिएको मेरो देश

– प्रेम चिमरिया                                                                                       prem ji

बिद्यालयको प्राङगणमा प्रवेश गर्दै गरेकी सानी बच्चीलाई सोधेँ, नानी, तिम्रो नाम के हो ? उनले अलिक डराएको जस्तो आवाजमा उत्तर दिइन्, सोनु । मैले पुनः सोधेँ तिमी कहाँबाट आयौ त ? उनी मौन रहीन् । सँगै उभिएका अभिभावकले भने, यि मेरी नातिनि हुन् ।काठमाण्डौबाट भर्खर आएकी । उनले फेरि थप,े यिनी भूकम्प पीडित हुन् । यिनको घरपरिवार सकियो । यिनी डराउछिन् । बोल्न मान्दिनन् । मैले सम्झिएँ यिनलाई भूकम्पकीय त्रासको मनोबैज्ञानिक असर छ । सोनु, उनी त भूकम्प पीडितको प्रतिनिधि पात्र मात्र हुन् । मुलुकमा यस पटकको भूकम्पले के– कति सोनुहरुलाई पीडित बनायो त्यसको कुनै लेखा–जोखा छैन ।

आज हामी गत बैसाश १२ गतेदेखि गएको बिनासकारी भूकम्पले क्षत–विक्षत बनाएको यो देशको कारुणिक मुहारलाई टुलु–टुलु हेरेर पीडा सहन गर्ने प्रयास गरिरहेका छौँ । यो शक्तिशाली भूकम्पले देशमा के–कति मानवीय तथा भौतिक क्षति गर्यो त्यसको सत्य–तथ्य लेखा–जोखा भएको छ जस्तो लाग्दैन । हुन त सरकारी संयन्त्रले यस क्षतिको बारेमा पटक–पटक पुष्टि गर्दै आएको छ तर, यसैलाई पूर्ण रुपमा बिश्वास गरिहाल्ने अवस्था भने छैन किनभने नेपालका दुर दराजमा रहेका भूकम्प पीडितहरु समक्ष राज्यको उपस्थिति हुन नसकेको समाचार पनि हामी सुन्दै र पढ्दै आएका छौँ ।
बिशेष गरी नेपालको गोरखा, धाधिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायतका ठाउँहरुलाई केन्द्रबिन्दु बनाएर आएको बिनासकारी भूकम्पको अहिलेसम्म पनि धक्का महशुस भइरहेको छ । यसले मान्छेमा बिद्यमान त्रासलाई हटाउन सकेको छैन । भूकम्पले क्षतिग्रस्त मानवीय जीवन अहिले पनि सामान्य अवस्थामा आउन सकेको छैन । मुलुकले फेरि कतिखेर बिपत्तीको सामना गर्नुपर्ने हो भन्ने त्राही–त्राहीमा मान्छे खुल्ला आकाशमुनिको पालभित्र अनिधो जीवन बाचिरहेछ ।

भूकम्पको चपेटामा परि मृत्युवरण गर्नेहरु प्रति त राज्यले समवेदनाका शब्दगुच्छाहरु अर्पण गरिसक्यो तर, आज जो घरबारविहिन छन्, अपाङ्ग, घाइते, अनाथ र बेसहरा बनेका छन् तिनको च¥याइरहेको तन–मनको घाउमा कसरी मलम लगाउने, तिनको भयवित जीवनलाई कसरी सामान्यतर्फ उन्मुख गर्ने अनि नजिकिदै गरेको बर्षादबाट कसरी बचाउने भन्ने सवाल चाहिँ अहिले हाम्रा लागि मुख्य चुनौतिको बिषय बनेको छ । हुन त नेपाली आहान नै छ सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु हुनसक्छ, हामी सुख सयलमा निक्कै मात्तियौं होला, ब्यक्तिगत स्वार्थमा रमायौं होला तर, अहिले राष्ट्रलाई जुन बिपत्ति र दुःख छ, मान्छेको क्रन्दन र चित्कार दिग–दिगान्तमा फैलिएको छ । यो प्राकृतिक बिपत्ति हो । यसलाई सहन गर्नु बाहेक हामीसंग अर्को कुनै बिकल्प छैन । अहिले ती पीडितहरुमा आर्थीक, सामाजिक भौतिक जुनसुकै रुपबाट सहयोग गरेर भएपनि ति पीडित अनुहारमा मानवीय संवेदना ब्यक्त गर्नुपर्छ ।

हो, आज हाम्रा शहरहरु, प्राकृतिक सम्पदाहरु, सास्कृतिक, धार्मिक मठ–मन्दिरदेखि लिएर हजारौं नेपालीका बासस्थानहरु भग्नावशेषमा परिणत भएका छन् । सिसासरी टुक्रिएका छन, तासको महल झैं ढलेका छन् । कतै गाउँ उजाड छ, कतै भूमिको स्वरुप बदलिएको छ । यो पल मृत्युवरण गर्नेहरु त श्रधाञ्जलीका पुष्पगुच्छाहरु लिएर कहिल्यै नर्फकने मार्गतिर बिलय भए तर, जो बाँचेका छन, तिनले नारकीय जीवन भोगिरहेका छन् । तसर्थ, अब तिनको दुखेको घाउँमा मलम लगाउने जिम्मा तपाई हाम्रो हो किनभने मुलुक बिस्तारै त्रासदीपुर्ण अवस्थाबाट बौरिदैछ ।

यहाँ बुझ्नै पर्ने कुरा के छ भने अब पनि हामीले ढुक्क भएर बस्ने वा निदाउने बेला छैन, कारण भूकम्पले हाम्रा हिमाली तथा पहाडी संरचनालाई कमसल बनाएको छ । हिमपहीरो तथा बर्खायाममा आउने बाढीपहिरोले देशको बिभिन्न भागमा फेरि दुःख दिन सक्छ, मानवीय तथा भौतिक क्षति हुनसक्छ तसर्थ पल–पलमा सतर्क रहनुपर्ने देखिन्छ । साथै यो बिपतिलाई टार्दै संभाब्य खतराको सामना गर्न हामीले हातमा हात मिलाएर ती पीडितहरुप्रति मानबीय संवेदना ब्यक्त गर्दै राष्ट्रको पुनरनिर्माणमा जुट्ने बेला आएको छ । भग्नावशेषमा परिणत यो राष्ट्रको मुहारमा कान्ती ल्याएर पुनः एक पल सुनगाभाका सुन्दर फूलहरु फुलाउने समय आएको छ ।

हुन त वि.स. १९९० पछिकै शक्तिशाली र महा बिनासकारी यस प्रलयाग्नीले नेपालीलाई कहिल्यै बिर्सन नसक्ने चोट दिएर गएको छ । यस अर्थमा यो महा बिपत्तिको समय हो तर, यहाँ उठाउनै पर्ने अर्को मुख्य कुरा के छ भने यस घडीमा पनि कतिपय मान्छे मानवीय रुपमा संवेदित बन्दो रहेनछ, सायद यसैलाई भन्छन् क्यार बिचित्रको संसार ।

हामी सुनिरहेका छांै पीडाको यस घडीमा पीडितहरुप्रति मलम लगाउनु त कहाँ हो कहाँ उल्टै कोही घर–बहाल बढाउदैछन्, कोही चोरीमा ब्यस्त छन् , कोही बलत्कारको तान्डब नृत्य देखाउदैछन्, कोही कालोबजारी गर्दैछन् , कतिपय ब्यपारीहरुले चर्को मूल्यमा सामान बेचिरहेका छन् त कतिपय भूकम्पपीडितको नाममा आएको राहत सामग्री लुकाउने, बिक्री गर्ने जस्ता जघन्य मानवता बिरोधी अपराध गरिरहेका छन् । बिपत्तिको यो बेला ब्यक्तिगत स्वार्थमा लिप्त यस्ता भावनाशुन्य मानवीय सभ्यताका कलंकहरुमाथि राज्यले कडा कारवाही गर्नुपर्छ अनि मात्र ती पीडितहरुप्रति न्याय र सहयोगको महसुस होला कि !

जे होस् यो बिपत्तिको बेला प्रत्येक ब्यक्तिले आफ्नो मानवीयपनको जाहेर गर्नुपर्छ । भोक, रोग र शोकले थलिएका मनहरुमा सहयोग र सहानुभूतिको मलम लगाउनुपर्छ । त्यसो भए मात्र ती पीडितहरुमा आत्मसन्तुष्टि मिल्ने र देशको पुर्ननिर्माण कार्यले निरन्तरता पाउने र दीगो बिकास हुने थियो कि !

प्रतिक्रिया दिनुहोस्: