ओलीको हस्तक्षेपमा कृपासुर र गणेशबीच समझदारी

काठमाण्डौ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा र उनलाई बाबु दाबी गरेका गणेश शेर्पाबीच तत्कालका लागि समझदारी भएको छ । एमाले अध्यक्ष केपी ओलीकै हस्तक्षेपमा गणेशलाई न्याय दिने गरी समझदारी भएको हो ।

गणेश शेर्पाले आफूले ३५ वर्षसम्म नागरिकता नपाएको भन्दै अदालत, दलित आयोग र एमाले मुख्यालयमा समेत उजुरी दिएका थिए । एमाले अध्यक्ष ओली र उपाध्यक्ष विद्या भण्डारीले गणेश र कृपासुरको नाताबारे चासो राखेका छन् ।06

स्रोतका अनुसार ओलीले आफ्नै निवासमा कृपासुर र गणेशलाई भेटेर सम्बन्धबारे जानकारी लिएका थिए । उपाध्यक्ष भण्डारीले पनि मन्त्री शेर्पासँग जानकारी मागेकी थिइन् । ओली र भण्डारीसँगको भेटमा मन्त्री कृपासुरले गणेशसँगको सम्बन्ध स्वीकार गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार यसबीचमा गणेश र कृपासुरबीच पनि संवाद भएको छ । एमालेका एक स्थायी समिति सदस्यका अनुसार सोमबार बसेको स्थायी समिति बैठकमा उपाध्यक्ष भण्डारीले गणेशको निवेदनमाथि छलफल गर्न माग गरेकी थिइन् । उनको मागपछि यो विषयमा मंगलबार बस्ने स्थायी समिति बैठकमा छलफल गर्ने सहमति भएको ती सदस्यले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: