सेफ्टी ट्यांकीमा पाँच जनाको मृत्यु

कपिलबस्तु । कपिलवस्तुको निग्लीहवा ७ पचेहरास्थित एक निर्माणाधिन भवनमा निसास्सिएर पाँच जना मजदुरको मृत्यु भएको छ । स्थानीय प्रकाश केवटको निर्माणाधिन घरको सेफ्टी ट्यांकी 13स्टरिङ्ग निकाल्ने क्रममा भित्र छिरेका सबैको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृत्यु हुनेमा बाणगंगा नगरपालिका ४ हथौसा बस्ने भदै थारु, रमेश पासी, तौलेश्वर थारु, तिलक थारु र बाणगंगा ४ बस्ने शिवनारायण यादव रहेका छन् । मृत्यु भएका मध्ये ४ जना एकै गाउका हुन् ।

सेफ्टी ट्यांकी भित्र छिरेका रमेश र तौलेश्वर वेहोस भई ढलेपछि उनीहरुलाई उद्धार गर्न ठेकेदार र अरु दुई जना गएका थिए । उद्धार गर्न गएका उनीहरु पनि बेहोस भई ढलेको स्थानीय गुड्डु नाउले बताए ।

स्थानीयले खबर गरेपछि जहदी प्रहरी पोष्टबाट आएका प्रहरीले सेफ्टी ट्यांकी भत्काएर उद्धार गरी तौलिहवा अस्पताल पुरयाएका थिए । अस्पतालमा उनीहरुलाई मृत घोषित गरिएको थियो ।
मृतकको शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइने प्रहरी उपरिक्षक विक्रम गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: