पर्दाभित्र निसासिएका चित्कारहरु

प्रेम चिमरिया/                                                                                                                 prem ji
एक समय थियो, देश निर्माण र परिवर्तना अभियन्ताहरु शहर–बजार, गाउँ –बस्ति र राष्ट्रका कुनाकन्दराहरमा न्याय, परिवर्तन र स्वतन्त्रताका आवाजहरु लिएर पुग्थे । देशप्रेम र जनहितका पक्षमा वकालत गर्थे । प्रत्येक नेपालीले सरल र सहज जीवनयापन गर्न पाउनुपर्छ भन्ने तिनको माग थियो ।

काग्रेस, कम्युनिष्ट वा जुनसुकेै संघ–संगठनको नाममा आवाज उठाए पनि ती सबै प्रजातन्त्रवादी थिए, जनताको पक्षधर थिए । सायद त्यसैले होला तिनलाई ठुलो जनसमर्थन पनि थियो । जनताले तिनलाई सेवक सम्झन्थे र विश्वास गर्थे तर, आज त्यो अवस्था छैन, समय बदलिएको छ ।

आजको मान्छेले दिन प्रतिदिन मानविय संवेदना गुमाउदै गएको छ ।
यहाँ उठाउंन खोजिएको प्रसंग हो, बढ्दो महिला हिंसा र बलात्कार । केही बर्ष अघिसम्म यस प्रकृतिका घटनाहरु खासै बाहिर आउँदैन थिए । अझ अन्धकार युगको रुपमा परिचित राणाकालमा सञ्चारको खासै उपस्थिति थिएन । उनीहरु मनखुसी यौनलिला गर्थे । केही हदसम्म उदार देखिएको पञ्चायती शासनले पनि सञ्चार जगतलाई कज्याएरै राख्यो ।

मुलुकमा भएका तत्कालिन महिला हिंसाका घटनाहरु जति मात्रामा बाहिर आउनु पथ्यो त्यसो भएन । राज्य सञ्चालनको उपल्लो निकायमै बलात्कारका डर लाग्दा घटनाहरु घट्थे वा घटाइन्थे । त्यसको कुनै लेखाजोखा हुँदैन थियो । मन्त्री क्वाटरमै यौनलिला गरिन्थ्यो, स्वयम् राजा–महाराजाका दरवारभित्र तरुनी खेती हुन्थ्यो ।

महिला, किशोरी भनौं युवतीहरुलाई जबरजस्ती यौन कार्यमा सामेल गराइन्थ्यो । त्यसताका राजा तथा राजकुमारहरु रजस्वला भएका महिला तथा किशोरीहरुलाई समेत छोड्दैन थिए । तर, यस्ता भिमकाय घटनाहरुलाई पर्दाभित्रको बन्द कोठामै छिपाइन्थ्यो । ती चित्कारहरुलाई दबाइन्थ्यो । ज्यानको मायाले भएपनि ती युवतीहरु पीडा सहन गरी चुपचाप रहन्थे ।

यो देशले प्रजातन्त्र भोगेको पनि धेरै भयो । यसले १० बर्षे जनयुद्धलाई पनि धानिसकेको छ । साथै ०६२÷०६३ को जनआन्दोलनले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई पनि अहिले अनुभूती गरिरहेको छ । परिवर्तनका प्रहरहरुसँगै राज्यमा नयाँ–नौला ऐन–कानूनहरु बनेका छन् ।

हजारौं सहिदहरुको बलिदानीबाट प्राप्त गणतन्त्र राष्ट्रको समग्र बिकास, परिवर्तन र जनहितका लागि भनिए पनि बिशेषगरी महिला हिंसाको अन्त्यका सन्दर्भमा यो खासै प्रभावकारी देखिदैन । मुलुकको आधाहिसा ओगटेका महिलाहरुले हाल पनि त्रासदिपूर्ण जीवन बाच्नु परेको तितो यथार्थ हाम्रा सामु छर्लङ्गै छ ।

हामीले सुन्दै र पढ्दै आएका छौ । हाम्रा चेलीहरु बिदेशी कोठीमा बेचिएको, त्यहाँ नारकीय जीवन भोगिरहेको त्यती मात्र होइन, ती चेलीहरु पल–पलमा बिछिप्त बनेर मुर्छा पर्दै बौरिदै गरेको कुरा पनि हामीले देखे–सुनेका छौं । त्यस्ता दुःखद समाचारहरु पढ्दा र सुन्दा हाम्रा आङहरु जिरिङ्ग भएका छन्, रौ ठडिएका छन् अनि हाम्रा चेलीहरुलाई कोठीमा पुर्याउनेहरुप्रति हामी निक्कै आक्रोशित पनि भएका छौँ । सके त्यस्ता नरपशुहरुका बिरुद्धमा खड्गबशादुरले झैं हतियार उठाउने सोच पनि बनायौँ । तर, हामी बिना बर्दीका सिपाही भएकाले चुपचाप रह्यौं ।

अब हामीले बिदेशी कोठीको नारकीय तस्बीर शब्दचित्रमा उतारेर ढुक्क हुने बेला छैन कि न भने हाम्रा महिला दिदीबहिनीहरुका लागि यो देश नै एउटा नारकीय स्थल बन्ने त होइन ? भन्ने प्रश्न चिन्ह खडा हुन थालिसकेको छ । यहाँ कोहीलाई बोक्सीको आरोपमा ज्युँदै जलाइन्छ, कोहीलाई दाइजो नल्याएकै बहानामा घर निकाला गर्नेदेखि लिएर हत्या गर्नेसम्मको काम गरिन्छ । त्यती मात्र होइन, अहिले पनि हाम्रो घर–समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरेको भेटिन्छ ।

यी सबै मानवता बिरोधि लैङ्गीक बिबेदका ज्वलन्त उदाहरणहरु हुन् । यहाँ सजिलै आकलन गर्न सकिन्छ कि यस युगमा आइपुग्दा महिा हिंसाको अन्त्य हुनुको साटो झन् फस्टाउँदै गएको महसुस गनृ सकिन्छ । पछिल्लो चरणमा आएर मुलुकमा देहब्यापार बढ्दै गएको छ । बिशेष गरी हाम्रा शहर–बजारका होटल, लज रेष्टुरेन्टहरुमा यस्ता गतिबिधिहरु बढिरहेका छन् ।

गरिबीको फाइदा उठाएर थुप्रै किशोरी तथा युवतीहरुलाई यस्ता कार्यमा लगाइने गरेको भेटिन्छ । साथै यस्तो कार्य गर्न असमर्थ महिला तथा युवतीहरुलाई कुटपिट गर्ने देखि लिएर हत्यासम्म गर्ने गरेको हामीले देखे–सुनेका छौं ।

यसरी आफ्ना छोरी–चेलीहरुलाई सुरक्षाको घेराभित्र राखेर अर्काका छोरी–चेलीहरुलाई दिनदहाडै जबरजस्ती यौन कार्यमा लगाइन्छ , उनीहरुको अस्मीता लुटिन्छ तर, अलिेसम्म पनि त्यस्को यकिन तथ्याङ्क सार्वजनिक हुन सकेको छैन ।

यस सम्बन्धित निकाय प्रहरी प्रशासनले समेत खासै प्रभावकारी कदम चाल्न सकेको छैन । केवल झारा टार्ने काम मात्र गरिरहेको छ ।
आज यो देशका शहर वजारका होटल , लज र रेष्टुुरेण्टहरुमा कोठी प्रवृतिको विकास भइरहँदा अब हाम्रा छोरी चेलीहरुको सुरक्षाको बिषयमा चिन्ता बढिरहेको छ ।

यहाँ आसाराम र मोहनानन्द जस्ता धर्मभिरुहरु नै बलात्कारका घटनाहरुमा सामेल हुन्छन् , अनाथ आश्रमहरु भित्रै बालिकाहरु यौन दुब्र्यवहारका सिकार बन्छन् । अध्यारो कोठाभित्रै उनीहरुको अस्मिता लुटिन्छ । यस्ता यौनहिंसाका ताण्डव नृत्यहरु मुलुकभर नै सर्वत्र देखिन थालेका छन् ।

अरु त के कुरा यहाँ अव आफ्नै बाबुद्धारा छोरी बलात्कृत हुन थालेकी छे, यौनहिंसाको सिकार भएकी छे बन्द कोठाभित्रै चिच्याएर मुक्तिका लागी पुकार गरिरहेकी छे । अब भनौ त यहाँ महिला तथा बालिकाहरु सुरक्षित छन् त ?

हामीले यस्ता पसुवत, घृणित र लाजमर्दा कृयाकलापको बिरुद्धमा आवाज उठाउन जरुरी छ । यस्ता जगन्य अपराधीहरुको कुकृत्यको भण्डाफोर गर्न सकेमात्र यो मुलुकमा महिला हिंसाको अन्त्य हुन सक्छ साथै राज्यले समेत यस्ता आपराधिक कार्यको बिरुद्धमा स्पष्ट कानुन बनाएर पीडकलाई न्यायको कठघरामा उभ्याउन सक्नुपर्छ । अन्यथा यो समस्या देशकै कंलङ्का रुपमा बिकसित हुने कुरामा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्: