असन्तुष्ट २८ दल नजाने, संविधानसभा पनि बहिस्कार गर्ने

ppकाठमाण्डौ । चार दलबीच सोमबार राती सम्पन्न १६ बुँदे सम्झौताबाट असन्तुष्ट रहेका एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनभित्रका २८ दलको बैठक यतिबेला सिंहदरवारमा जारी छ । मधेशी तथा जनजाती पार्टीहरुले शीर्ष दलहरुबीचको सहमतिलाई नमान्ने घोषणा हिजै गरिरसकेका छन् ।

चार दलबीच प्रधानमन्त्री निवास बालुवाटरमा भएको सहमतिको विरुद्धमा रहेका २८ दलहरुको आजको बैठकले ३० दलीय गठबन्धनको भविष्य पनि तय गर्नेछ । असन्तुष्ट दलहरु अब गठबन्धनमा रहने वा नरहने भन्ने विषयमा छलफल भइरहेको र सहमतिपछि कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।

सोमबार पनि सिंहदरवारमा असन्तुष्ट दलहरुको बैठक बसेको थियो । बैठक पछि हृदयेश त्रिपाठीले चार दलबीचको सहमति नमान्ने र संविधानसभाबाट बाहिरिनेसम्मको चेतावनी दिएका थिए । यता, ‘गठबन्धन फुटेको हो त ’ भन्ने जिज्ञासामा सद्भावना पार्टीका महासचिव मनिष सुमनले फुटे सरह नै हो तर गठबन्धन एक रहेको वा नरहेको कुरा अध्यक्ष प्रचण्डमा भर पर्ने बताएका थिए ।

एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले सहमतिमा हस्ताक्षर गरेपछि गठबन्धन फुट्ने आँकलन गरिएको छ । यता, आजै ३० दलीय गठबन्धनभित्र संविधानसभामा प्रतिनिधित्व गर्ने १८ दलको बैठक बस्ने भनिएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले दिएको जानकारी अनुसार हिजो भएको सहमति बारे दलहरुलाई जानकारी गराइने छ । प्रचण्डले आयोजना गरेको आजको बेठकमा असन्तुष्ट दलहरुले भने बैठकमा नजाने निर्णय गर्दै छन् । सहभागी एक नेताले असन्तुष्ट दलहरु बैठकमा भाग नलिने बताए । त्यस्तै आज संविधानसभाको बैठक पनि बहिस्कार गर्ने तयारी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्: