सशस्त्रका असईको मुक्का नेपाल प्रहरीका हवल्दारमाथि

Photo Kakarvittaबिर्तामोड । सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाका प्रहरी सहायक निरीक्षकले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका हवल्दारलाई सोमबार मध्यान्ह मुक्का हानेका छन् । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक दिपककुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका हवल्दार गगनकुमार चौधरीलाई सडकमै मुक्का हानेका थिए ।

सोमबार मध्यान्न एकजना महिला व्यापारीले खाने तेल भन्सार नगरी गेटबाट लाँदै गर्दा हवल्दार चौधरीले केरकार गर्ने क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक श्रेष्ठले नेपाल प्रहरीका हवल्दार चौधरीलाई मुक्का हानेका थिए ।

चौधरीको काँकरभिट्टा स्थित निजी क्लिनिकमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको थियो । सशस्त्र प्रहरीको कुटपिटबाट घाइते चौधरीको अनुहार सुनिएको छ ।

उनको आँखा, गाला तथा ओठमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । भन्सार सुरक्षा र राजस्व छली रोक्नको लागि ढाटसँगै सशस्त्र प्रहरीलाई राखिएको छ भने त्यसको ५० मि. भित्र नेपाल प्रहरीका २ जवान भन्सार नभएको र अखाद्य बस्तुलाई नेपाल प्रवेश हुन नदिन ड्युटीमा राखिएको छ ।

शसस्त्रले चेक नगरेको अवस्थामा भारतीय बजारबाट ति व्यापारीले ल्याएको खानेतेल प्रहरीले चेक गर्ने क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक श्रेष्ठले नेपाल प्रहरीका हवल्दार चौधरीसंग विवाद गरेका थिए । विवाद बढदै गएपछि श्रेष्ठले चौधरीलाई मुक्का हानेका हुन् ।Kutai khane hawaldar Chaudhari

नाम उल्लेख नगर्ने सर्तमा एकजना प्रहरी नायव निरीक्षकले भने, ‘एक पल्ट होइन यसअघि पनि धेरै पटक सशस्त्र प्रहरीको हेपुवा प्रवृर्तिको हामीले सामना गरेका छौं ।’ एकजना प्रत्यक्षदर्शी रेशव क्षेत्रीका अनुसार श्रेष्ठले चौधरीलाई मुक्का प्रहार गरेपछि त्यहाँ ड्युटीमा रहेका सबै सशस्त्र प्रहरीले चौधरीलाई कुटेका थिए ।

क्षेत्रीले भने, ‘एकजना हवल्दारमाथि सबै सशस्त्र प्रहरी जाइलागेपछि निकै भिडभाड बढ्यो । प्रहरी–प्रहरीको कुटाकुट पनि यिनै आँखाले हेर्नु पर्यो ।’ अर्का प्रत्यक्षदर्शी भ्यान चालक हेम पुलामीले प्रहरीको यो हर्कत जात्रा भएको टिप्पणी गरे ।

उनले भने, ‘मुक्का खाएपछि प्रहरी हवल्दार इप्रका जाँदै थिए सशस्त्रका सबै आएर हवल्दारलाई पुनः भकुरे, यो त अन्याय भो ।’ झगडामा संलग्न सशस्त्र प्रहरी सहायक निरीक्षक श्रेष्ठले चौधरीमाथि कुटपिट नगरी प्रहरी कार्यालयमा बुझाउन आफूले हात लगाएको दाबी गरेका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार केहीबेरपछि सादा पोषाकमा आएका सशस्त्रका अर्का प्रहरी सहायक निरीक्षकले बोरामा हालेर पिट्ने सुझाव दिएका थिए भने ड्यूटीकै एक सशस्त्रका सिपाहीले प्रहरी हवल्दार चौधरीको मोबाईल खोसेर बाटोका पछारेका थिए ।

प्रतिक्रिया दिनुहोस्: