१६ बुंदे सहमति खारेज गर्न कोचिला र लिम्बुवानको चेतावनी

– पारस तिम्सिना/
01बिर्तामोड । एमाओवादी सम्बद्ध कोचिला राष्ट्रिय मुक्ति मोर्चाका पुर्व केन्द्रीय अध्यक्ष पुर्णसिंह राजवंशीले दलहरुबिच भएको १६ बुँदे सहमति जातीय पहिचान सहितको संघियता ल्याउन नसक्दा गरिएको षड्यन्त्र मात्र भएको बताएका छन् ।

उनले मेचीखवरसंग कुरा गर्दै पहिचान सहितको संघियता बनाउने भनि एमाओवादीसहितका राजनितिक दलहरुले दिएको आश्वासनका कारण कोचिला आन्दोलन रोकिएको बताए ।
झापा क्षेत्र नम्बर ३ का पुर्व सभाषद राजवंशीले असली पहिचान दिन नसक्ने दलहरुबिचको झुण्ड मिलेर गरिएको सहमति तुरुन्त खारेज गर्नुपर्ने बताए ।

उनले सहमति खारेज नगरिए सबै पहिचानवादीहरु मिलेर कडा आन्दोलनमा जानुको बिकल्प नरहेको बताए । उनले भने ‘सबै पहिचान सहितको संघियताका पक्षधरहरु मिलेर आन्दोलनमा जान्छौं ।’ उनले एमाओवादी पार्टी सम्बद्ध मोर्चाले नै पहिचानको मुद्दालाई छोडेर संघियतामा जान नमिल्ने बताएका हुन् ।

संघियता बिरोधी सहमति मान्दैनौं – लिम्बुवान

संघिय लिम्बुवान पार्टी नेपालले दलहरुबिच भएको १६ बुदे सहमति पहिचान सहितको संघियता बिरोधी भएको ठहर गरेको छ । पार्टीको बिर्तामोडमा बसेको बैठकले ठुला चार दलहरुबीच भएको सहमति पहिचान बिरोधी भएको ठहर गरेको हो ।

बैठकले १६ बुंदे सहमति खारेज गर्न समेत आग्रह गरेको मंगलबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका बरिष्ठ नेता सञ्जुहाङ्ग पालुङवाले नाम र सिमांकन बिनाको प्रदेश बनाउने दलहरुको सहमतिले संघियता, पहिचान लगायतका मुद्दालाई ओझेलमा पार्ने बताए । उनले यो सहमतिका आधारमा संविधान बने आफ्नो पार्टी शसक्त आन्दोलनमा जाने जानकारी दिए ।

पार्टीका अध्यक्ष कुमार लिङदेनले आफुहरुसंग कुनै छलफल नगरी ल्याइएको १६ बुदे प्रस्ताब तुरुन्त फिर्ता लिन आग्रह गरे । ‘संघियताको बारेमा सरोकार राख्ने पक्षलाई बाहिर राखेर गरिएको सहमति मान्य हुदैन, उनले भने– ‘त्यसका बिरुद्ध एक साता भित्र सचिवालयको बैठक बसि आन्दोलनको खाका सार्वजनिक गछौं ।’

उनले आन्दोलनबाटै उक्त सहमति खारेज गराउने चेतावनी दिए ।
लिम्बुवान आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्न आग्रह गर्दे पत्रकार सम्मेलनमा बितरीत बिज्ञप्तीमा अरुण पुर्वका नौ जिल्लालाई आत्म निर्णयको अधिकार सहित लिम्बुवान राज्य बनाइनुपर्ने माग गरिएको छ । सहमतिले एकल जातीय र बर्तमान शासक बर्गको मात्र पक्षपोषण गर्ने आरोप लगाउदै पहिचान पक्षधरसँग आन्दोलनको मोर्चाबन्धी गर्ने बताइएको छ ।

सबैको प्रतिनिधित्व पहुच र अधिकार स्थापित गर्न जातीय जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्वाचन प्रणालीको ब्यवस्था हुनुपर्नेमा उनिहरुको जोड थियो । पार्टीको बैठक बसि तयार गरिएको ९ बुदे माग पत्रमा अध्यक्ष कुमार लिङदेन, बरिष्ठ उपाध्यक्ष रामभक्त कुरुम्बाङ, बरिष्ठ नेता सञ्जुहाङ्ग पालुङवा, कमल छाराहाङ र बिर नेम्वाङले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: