आश्रममा राखिएका बालक एक वर्षदेखि वेपत्ता

balakकाठमाण्डौ । आश्रममा राखिएका एक बालक एक वर्षदेखि वेपत्ता भएका छन् । भोजपुरको बोखिम–८ निवासी जयबहादुर तामाङका ८ वर्षीय छोरा मंगल तामाङ २०७१ वैशाखबाट आश्रमबाटै वेपत्ता भएका हुन् ।

उनीहरुकी आमा सानैमा छाडेर हिँडेकी थिइन् भने बाबु जयबहादुर तामाङ समेत एक व्यापारीको हत्या अभियोगमा जेल परेपछि दिदी शोमा तामाङ र मंगलको संरक्षणको जिम्मा पशुपति मारवडाी सेवा सदनद्वारा सञ्चालित आस्था वृद्धाश्रमले लिएको थियो ।

चञ्चले स्वभावका बालकलाई आश्रमको रेखदेख गर्दै आएकी पुष्पा बज्राचार्य र उनकी सहयोगीले पटक पटक कुटपिट गरेपछि भागेको पीडितपक्षले आरोप लगाएका छन् । बालककी दिदी शोमाले भाइलाई सुधार्ने भन्दै खान नदिई पटक पटक कुटपिट गरी आश्रमममा बस्न नदिएपछि भागेको बताएकी छन् । उनले कुटपिटबाट जोगिन बाहिर निस्कने भाइलाई फर्केर आश्रममा बस्न नदिएपछि आश्रय खोज्दै भागेको बताइन् ।

बालक हराएपछि आश्रमका सञ्चालकले उनका अभिभावकलाई त्यसबारे लामो समयसम्म खबरसेमत गरेका थिएनन् । ‘छोराको अवस्थाबारे सोध्दा उल्टै मलाई किन चासो लिएको भनेर हप्काउँथे’, मंगलकी आमा देवीमाया तामाङले भनिन्, ‘छोरो हराएको ६ महिनापछि थाहा पाएर जाँदा पनि तलाईं के चासो भन्दै हप्कीदप्की गरे ।

अहिले खोजी गर्दा छोरो वेपत्ता छ ।’ बाबु जयबहादुले मार्ने धम्की दिएपछि मंगललाई १० महिनाको हुँदै छाडेर हिँडेकी देवीमायाले छोरो हराएको खबर सुनेपछि खोजीका लागि आश्रमसम्म आइपुगेकी थिइन् ।

तर आश्रमका सञ्चालकले सही सूचना नदिँदा अहिले छोराको खोजीमा रातदिन भौतारिनुपरिरहेको उनले बताइन् । ‘आश्रममा राख्दा समेत वृद्धा र बालबालिकाको लागि आएको राहत सामग्री मेरा छोराछोरीलाई बेच्न पठाउँदा रहेछन उनले भनिन् ‘छोरालाई रगत आउनजेल कुटेछन् ।

बाहिर आश्रय लिएर बसेको छोरालाई त्यहाँ पनि बस्न नदिई आश्रमका मान्छेले लखेटेछन् ।’ छोराछोरीजस्तै संरक्षण गर्ने जिम्मा लिएको पशुपति मारवाडी सेवा सदनका पदाधिकारीलाई छोराको खोजीको आग्रह गर्दा बेवास्ता गरेको मंगलका बाबु जयबहादुरले जेलबाट सुनाए ।

‘हराएको छोरो खोजी गरिदेऊ भन्दा वास्तै गर्दैनन् उनले भने, ‘अहिले त सञ्चालक सुवास गोयल फोनै उठाउँदैनन् । कि शास चाहियो कि लाश चाहियो ।’ आश्रमबाट भागेपछि बालक कलंकीस्थित एक मःम होटलमा बसेका मंगललाई त्यहाँबाट फर्काएर अभिभावकलाई नबुझाई वेवारिसे छाडिदिँदा बालक हराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्: