दुर्घटना न्यूनिकरणका लागी ट्राफिक अभियान

111बिर्तामोड । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा विभिन्न योजनाका साथ अघि बढ्न थालेको छ । यसक्रममा आईतबार कार्यालयले ‘टिम रिभोलुशन’ नामक संस्थासँग सहकार्य गरी सवारी चालक र पैदलयात्रीलाई ट्राफिक सचेतना प्रदान गरेको छ ।

मुक्तिचोक परिसरमा ट्राफिक प्रहरी र ‘टिम रिभोलुशन’का सदस्यहरुले लगभग ३ घण्टा सचेतना प्रदान गरे । उनीहरुले पैदल यात्रीलाई जेब्रा क्रसिङबाट मात्र बाटो काट्न, सवारी चालकलाई सिट बेल्ट बाँध्न, मोटरसाईकल चालकलाई हेलमेटको क्लिप लगाउन अनुरोध गरे ।

युवाहरुसँग सहकार्य गरी सचेतना प्रदान गर्न सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख रोशन आचार्य बताउँछन् । ट्राफिक प्रहरीले आग्रह गर्दा अटेर गर्ने समूहले पनि युवाहरुको आग्रहलाई सकारात्मक रुपमा लिएको उनले बताए । अटेर गर्नेलाई कारवाही सँगसँगै सचेतनाका कार्यक्रम पनि निरन्तर गर्ने उनले बताए ।

आईतबार ट्राफिक भोल्यून्टियरका रुपमा काम गरेको संस्था ‘टिम रिभोलुशन’ २ महिना अघि जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको बताइएको छ । यस संस्थाले २०÷२० दिनमा ट्राफिक जनचेतना फैलाउने, सामाजिक सचेतनाका कार्य गर्ने, समाज विकासमा योगदान पुर्याउने लक्ष्य लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: